बाँके, १८ बैशाख ।
जिल्लामा पहिलोपटक जानकी गाउँपालिका–१ बढैयालाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा’ घोषणा गरिएको छ। आज एक औपचारिक समारोहमा “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित वडालाई औपचारिक रूपमा घोषणा गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक दल बहादुर रानाले जानकी–१ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्दै यसलाई बाँके जिल्लाकै ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे । स्वास्थ्य चौकी इन्चार्ज मोहम्मद साहिल कादरीका अनुसार नेपाल सरकारले जारी गरेको ‘पूर्ण खोप सुनिश्चितता निर्देशिका (तेस्रो संशोधन–२०७७)’ का सबै मापदण्ड पूरा गरेपछि वडाले यो मान्यता प्राप्त गरेको हो ।
निर्देशिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप सुनिश्चित गर्नुका साथै १६ देखि २३ महिनासम्मका छुटेका बालबालिकालाई खोजी गरी खोप लगाई आवश्यक सबै मात्रा पूरा गरिएपछि मात्र यस्तो घोषणा गर्न सकिने व्यवस्था छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका अन्य वडाहरूले अझै उक्त मापदण्ड पूरा गर्न नसकेको अवस्थामा जानकी–१ ले अग्रणी भूमिका निर्वाह गर्दै उदाहरण प्रस्तुत गरेको छ ।
घोषणा कार्यक्रममा वडा अध्यक्ष मोहम्मद रेजा राईसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । सरकारको नीति अनुसार वडा, स्थानीय तह, जिल्ला हुँदै प्रदेश र अन्ततः देशलाई नै ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना’ घोषणा गर्ने लक्ष्य लिइएको छ । सोही अभियानअन्तर्गत बाँके जिल्लाले यस वर्ष जानकी–१ बाट औपचारिक सुरुवात गरेको हो ।
यस उपलब्धिले खोपप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै, अन्य वडाहरूलाई पनि शीघ्र पूर्ण खोप सुनिश्चितता घोषणा गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।










