कर्णाली पारा ह्विलचियर टी–२० क्रिकेट प्रतियोगता हुँदै

  • नमस्ते कर्णाली

  • सुर्खेत, १९ बैशाख । 

    कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबारदेखि कर्णाली पारा ह्विलचियर क्रिकेट टी–२० प्रतियोगिता सञ्चालन हुने भएको छ । पारा फाउन्डेसन सुर्खेतको आयोजनामा यो प्रतियोगिता हुन लागेको हो । शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरूको खेल कौशल प्रदर्शन गर्ने र उनीहरूलाई खेलकुदको मूल प्रवाहमा जोड्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

    प्रतियोगितामा जम्मा दुईवटा टिमबीच प्रतिस्पर्धा हुनेछ । खेल टी–२० (२० ओभर) को ढाँचामा खेलाइनेछ । प्रतियोगितामा विजेता समूहलाई पुरस्कारसमेत दिइने छ । प्रतियोगिता वीरेन्द्रनगर नगरपालिकाको दक्षिणमा रहेको क्रिकेट मैदानमा हुनेछ । तीन दिन चल्ने क्रिकेट प्रतियोगिताकै अवसरमा ह्विलचियर बास्केटबल र नृत्य प्रर्दशनसमेत गरिनेछ ।

    पारा खेलाडीहरूको मनोबल उच्च बनाउनु र समाजमा अपाङ्गता भएका व्यक्तिहरूको क्षमता प्रदर्शन गर्न सघाउ पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ । पारा फाउन्डेसनका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उनले यस्ता प्रतियोगिताले अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदका माध्यमबाट समाजमा स्थापित हुन थप प्रेरणा दिने विश्वास व्यक्त गरे ।

    प्रतियोगिताले कर्णालीमा पारा खेलकुदको नयाँ जग बसाल्ने अपेक्षा गरिएको छ । प्रतियोगिता सञ्चालनमा प्रदेश सरकारले कुनै सहयोग नगरेको गुनासो गरे । ओलम्पिक खेलमा नेपाललाई ओलम्पिक क्षेत्र प्रतियोगितामा पहिलो मेडल दिलाउन सक्षम रहेको अपाङ्गता क्षेत्रलाई प्रदेश सरकारले सहयोग नगरेकोमा दुख व्यक्त गरे ।

     

  • १९ बैशाख २०८३, शनिबार ११:४५ प्रकाशित

  • Nabintech