कर्णाली प्रदेश अस्पतालले स्वास्थ्यजन्य फोहर व्यवस्थापनलाई वैज्ञानिक र दिगो बनाउन ‘शून्य फोहर’ सिद्धान्त अवलम्बन गरेको छ। सुरक्षित स्वास्थ्यजन्य फोहर व्यवस्थापन प्रणाली अन्तर्गत अस्पतालले फोहरको स्रोतमै छुट्टाछुट्टै वर्गीकरण गरी जोखिमयुक्त फोहरलाई विशेष सवारीसाधनमार्फत संकलन गरेर व्यवस्थापन केन्द्रसम्म पुर्याउने व्यवस्था सुरु गरेको हो।
अस्पतालका अनुसार संकलित फोहरलाई नजलाउने प्रविधिबाट संक्रमणमुक्त बनाई पुनःचक्रणका लागि पठाइनेछ। यसले दिगो, सुरक्षित र शून्य फोहरमा आधारित स्वास्थ्य फोहर व्यवस्थापन प्रणाली प्रवर्द्धन गर्नुका साथै रोजगारी र आम्दानीका अवसरसमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ। अस्पतालजन्य फोहरको असुरक्षित विसर्जनले जनस्वास्थ्य र वातावरणमा जोखिम बढिरहेका बेला यो पहल महत्वपूर्ण मानिएको छ।
यो परियोजना हेल्थ इन्भाइरन्मेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशन (हेकाफ ३६०) र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालनमा आएको हो। एक वर्षे अवधिको यस परियोजनामार्फत अस्पतालबाट निस्कने फोहरलाई अधिकतम पुनः प्रयोग गर्दै अन्ततः विसर्जन गर्नुपर्ने फोहरको मात्रा शून्यमा पुर्याउने लक्ष्य राखिएको छ।
स्वास्थ्य संस्थाबाट निस्कने फोहरमा एचआइभी, हेपाटाइटिस बि, हेपाटाइटिस सि लगायतका घातक रोगका किटाणु हुने भएकाले बिरामी, स्वास्थ्यकर्मी र समुदायमा पर्ने जोखिम न्यूनीकरण गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको छ।
अस्पतालको तथ्यांकअनुसार हाल दैनिक करिब १९५ किलोग्राम कम जोखिमयुक्त र ११३ किलोग्राम उच्च जोखिमयुक्त फोहर उत्पादन हुने गरेको छ। यद्यपि हालसम्म नगरपालिकाले फोहर व्यवस्थापन गर्दै आए पनि विसर्जन स्थल व्यवस्थित नहुँदा विशेषगरी वर्षायाममा फोहर बगेर वातावरणीय प्रदूषण हुने जोखिम रहेको छ।
अत्याधुनिक उपकरणसहित सेवा विस्तार भएसँगै अस्पतालमा बिरामीको चाप बढ्दो छ, जसका कारण फोहर उत्पादन पनि वृद्धि भइरहेको छ। यसले स्वास्थ्यकर्मी, बिरामी तथा समुदायमा थप जोखिम सिर्जना गर्ने देखिएको छ।
हेकाफ ३६० का कार्यकारी निर्देशक डा. मोचन भट्टराईका अनुसार गत चैतदेखि सुरु भएको परियोजनामा करिब एक करोड रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ। परियोजनामार्फत स्वास्थ्यकर्मी र फोहर व्यवस्थापनमा संलग्न कर्मचारीलाई तालिम प्रदान गर्नुका साथै वर्गीकरण, ढुवानी र सुरक्षित विसर्जनका लागि आवश्यक पूर्वाधार र उपकरणमा सहयोग गरिनेछ।
आइतबार आयोजित परियोजना परिचय तथा सह–निर्माण कार्ययोजना गोष्ठीमा विज्ञहरूले अस्पतालजन्य फोहर जलाउने वा गाड्ने परम्परागत अभ्यास त्यागेर वैज्ञानिक व्यवस्थापनमा जोड दिएका छन्। जनस्वास्थ्य विज्ञ प्रेरणा डंगोलले फोहर जलाउँदा निस्कने धुवाँले क्यान्सर र श्वासप्रश्वाससम्बन्धी जटिल रोग निम्त्याउने बताउँदै संकलनदेखि अन्तिम व्यवस्थापनसम्म वैज्ञानिक चक्र अपनाउनुपर्नेमा जोड दिइन्।
उनका अनुसार फोहरलाई प्रशोधन गरी निष्क्रिय बनाएपछि सुरक्षित रूपमा सिमेन्ट भल्ट (क्याप्सुल) मार्फत व्यवस्थापन गरिनेछ। उनले नेपालका धेरै स्वास्थ्य संस्थामा फोहर जलाउने तथा नगरपालिकाको फोहरसँग मिसाउने अभ्यासले वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको उल्लेख गरिन्।
कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापाले अस्पताललाई नमुना बनाउन फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार आगामी आर्थिक वर्षमा फोहर व्यवस्थापनका लागि छुट्टै बजेट व्यवस्था गर्ने र आवश्यक जनशक्ति पूर्ति गर्न नीतिगत सुधारको तयारी भइरहेको छ।
उनले अस्पताल र समुदायबीच समन्वय गर्दै फोहरलाई आम्दानीको स्रोतमा रूपान्तरण गर्ने तथा वातावरणमैत्री स्वास्थ्य संस्था निर्माणमा परियोजनाले टेवा पुर्याउने विश्वास व्यक्त गरे। साथै, समुदायस्तरमै फोहरको स्रोतबाटै वर्गीकरण गरी पुनः प्रयोगमा जोड दिनुपर्नेमा पनि उनले आग्रह गरे।










