मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले साहसिक खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ आयोजना गर्ने भएको छ। गाउँपालिकाले आईतबार एक कार्यक्रम मार्फत आगामी जेठ ३ गते पुलुमा प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो।
छायाँनाथ धाम (एब्लाङ) केन्द्रित यस क्षेत्र प्राकृतिक सौन्दर्य, हिमाली भू–परिवेश तथा धार्मिक आस्थाको संगमस्थलका रूपमा परिचित भए पनि पर्याप्त पूर्वाधार र प्रचारप्रसार अभावमा यसको पर्यटन सम्भावना पूर्ण रूपमा उजागर हुन नसकेको गाउँपालिकाको भनाइ छ। यही सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने तथा साहसिक खेलमार्फत खेल पर्यटन विकास गर्ने लक्ष्यसहित अल्ट्रा रेस आयोजना गर्न लागिएको हो।
मुगुम कार्मारोङ गाउँपालिका र ALl Nepal Sports Foundation को सहकार्यमा हुन लागेको प्रतियोगितालाई Nepal Adventure Running Federation ले प्राविधिक सहयोग र मुख्य प्रवर्धन साझेदार नेपाल पर्यटन बोर्डले गर्नेछ।
प्रतियोगिताअन्तर्गत किम्रि २८८० मिटर उचाई बाट सुरु हुने ३३.३५ किलोमिटर लामो मुख्य दौड छायाँनाथ ४८२० मिटर उचाई र चिताइकुना २४४० मिटर हुँदै पुलु २२५५ मिटर मा पुगेर टुंगिनेछ। दुर्गम हिमाली भूभाग, उकालो ओरालो र उच्च हिमाली वातावरण पार गर्दै सम्पन्न हुने यस दौडलाई गाउँपालिकाले देशकै चुनौतीपूर्ण धार्मिक-साहसिक रेसका रूपमा प्रस्तुत गरेको छ।
मुख्य प्रतियोगितामा महिला र पुरुष दुवै विधामा प्रतिस्पर्धा गराइनेछ भने स्थानीयको सहभागिता बढाउन ५ किलोमिटरको ‘फन रन’ समेत समावेश गरिएको छ।
गाउँपालिकाका अनुसार ३३.३५ किलोमिटर मुख्य विधाका विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेले २ लाख रुपैयाँ, द्वितीयले १ लाख ५० हजार, तृतीयले १ लाख, चौथोले ७५ हजार तथा पाँचौंले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। स्थानीयतर्फका उत्कृष्ट धावक धाविकाका लागि पनि छुट्टै नगद पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब ९८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ। यस कार्यक्रममार्फत मुगुम कार्मारोङ गाउँपालिकालाई साहसिक खेल पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको गाउँपालिकाको दाबी छ।
गाउँपालिकाले धार्मिक महत्व बोकेको छायाँनाथ धाम, हिमाली भू–दृश्य र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न अल्ट्रा रेस कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेको छ।










