चौकुने गाउँपालिकाका दुई वडा सचिवविहिन कार्यालय सहयोगीको भरमा सेवा

  • नमस्ते कर्णाली

  • सुर्खेत, २३ बैशाख ।
    नेपालको संविधान २०७२ जारी भएसँगै देश संघीय संरचनामा गयो । संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार गठन भए । त्यसबेला स्थानीय तहलाई ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्दै अधिकार र सेवा जनताको घरदैलोमै पुग्ने अपेक्षा गरिएको थियो । तर, चौकुने गाउँपालिका वडा नं. १ धनरासमा पाँच महिनादेखि वडासचिवविहीन वडा कार्यालय सञ्चालन भइरहेको छ । 
    यसअघि कार्यरत वडासचिव सत्यनारायण यादवलाई २०८२ माघ १ गते वडा नं. ५ मायातालमा सरुवा गरिएपछि हालसम्म नयाँ सचिव खटाइएको छैन । वडासचिव नहुँदा वडा कार्यालय अहिले कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । सचिव अभावका कारण सामान्य प्रशासनिक कामकाजसमेत प्रभावित भएको वडा नं. १ का वडाअध्यक्ष जिरक बडुवालले बताए ।
    बडुवालले भने, सचिव नहुँदा सेवाग्राहीले दैनिक कामकाजमा सास्ती भोगिरहेका छन् । “पालिकामा पटक–पटक ताकेता गर्दा पनि अहिलेसम्म हाम्रो कुरा सुनुवाइ नभएको उनले बताए” कार्यपालिकाको बैठकमा समेत सचिव व्यवस्थापनको विषय उठाउँदा एक साताभित्र वडासचिव पठाइने आश्वासन दिइए पनि हालसम्म पालिकाले सचिव नपठाइएको उनको भनाइ छ । 
    सचिव अभावले वडा कार्यालयका नियमित प्रशासनिक सेवा प्रभावित भएको बडुवालले बताए । नागरिकता सिफारिस, विभिन्न प्रकारका प्रमाणित कागजात तथा अनुदानका लागि आवश्यक सिफारिसजस्ता काम समयमै हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । गाउँपालिकाले फलफूल खेती गर्ने उत्कृष्ट किसानलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने सूचना जारी गरेपछि वडा नं. १ का चन्द्रबहादुर खण्डी अनुदानका लागि आवश्यक सिफारिस लिन वडा कार्यालय पुग्दा वडासचिव कार्यालयमा उपस्थित नभएको उनले गुनासो गरे ।
    समयमै सिफारिस नपाउँदा अनुदानबाट बञ्चित हुने चिन्ता बढेको छ । ‘सूचना आएपछि आवश्यक कागजात जुटाएर वडा कार्यालय पुगेँ, तर वडासचिव नभएकाले सिफारिस लिन सकिनँ,’ उनले भने । यता, वडाध्यक्ष बडुवालले वैशाख २३ गते सामाजिक सुरक्षा भत्ता वितरण कसरी गर्ने भन्ने विषयमा गाउँपालिकासँग परामर्श गर्दा गाउँपालिकाले वडा नं. ३ का सचिवलाई अस्थायी रूपमा खटाइएको जानकारी दिएको बताए । स्थायी रूपमा सचिवको व्यवस्था नहुँदा पाचँ महिनादेखि वडा कार्यालयको सेवा प्रवाह अझै सहज हुन नसकेको उनले जानकारी दिए । यो समस्या चौकुने–१ को मात्रै होइन, चौकुने–२ लगाममा पनि छ महिनादेखि वडासचिवविहीन अवस्थामा वडा कार्यालय सञ्चालनमा रहेको छ । 
    यसअघि भदौ महिनासम्म वडासचिव दीपक बस्नेतले उक्त वडामा कामकाज सम्हाल्दै आएका थिए । गाउँपालिकाले उनलाई भदौमै वडा नं. ३ बेतानमा सरुवा गरेपछि वडा नं. २ मा हिरा थापालाई वडासचिवको रूपमा पठाइएको थियो । तर, उनलाई पनि मंसिर महिनामा पुनः वडा नं. ४ बिजौरामा सरुवा गरिएपछि लगाम वडा पुनः वडासचिवविहीन बन्न पुगेको हो । चौकुने गाउँपालिका वडा नम्बर २ मा वडासचिव नहुँदा दैनिक प्रशासनिक कामकाज प्रभावित बनेको छ । हाल वडा कार्यालय सहयोगीकै भरमा कार्यालय सञ्चालन भइरहेको वडाध्यक्ष मयाराम जैसीले जानकारी दिए ।
    पालिकाले वडा नम्बर २ र ३ का लागि एउटै वडासचिव खटाए पनि उनको कार्यक्षेत्र वडा नम्बर ३ मा केन्द्रित रहेकाले वडा नम्बर २ मा नियमित सेवा प्रवाह हुन नसकेको वडाध्यक्ष जैसीले बताए । जसका कारण दैनिक सेवा लिन आउने सेवाग्राहीहरू मर्कामा परेको जैसीले भने, । वडासचिवको अभावले सिफारिस, प्रमाणपत्र लगायतका आधारभूत प्रशासनिक कामहरूमा ढिलाइ भइरहेको र सेवा प्रवाह सहज बनाउन तत्काल वडासचिवको व्यवस्था गर्न पालिकासँग माग गरेको तर पालिकाले कुनै सुनुवाई नगरेको बताए । 
    त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर वि.कले आवश्यक जनशक्ति व्यवस्थापनमा कठिनाइ हुँदा समस्या देखिएको बताएका छन् । “हामीले कर्मचारी पठाउन खोजेका छौँ, तर कोही पनि जान मान्दैनन्,” उनले भने । अन्य शाखाका कर्मचारीलाई वडासचिवको जिम्मेवारी दिन सकिने भए पनि उनीहरू उक्त जिम्मेवारी लिन इच्छा नदेखाएको विकले बताए । तर, यता मुख्यमन्त्री कार्यालयले कर्मचारी पठाउने आश्वासन दिए पनि हालसम्म कुनै प्रगति नभएको उनले बताए । यसअघि वडा नम्बर १ र २ का वडासचिव एउटै कार्यालयमा पाँच वर्षसम्म कार्यरत रहेकाले उनीहरूलाई सरुवा गरिएको पनि उनले जानकारी दिए ।

  • २३ बैशाख २०८३, बुधबार ०८:३१ प्रकाशित

  • Nabintech