सुर्खेत, २४ बैशाख ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा हटाउन ७ दिने अल्टिमेटम दिएको छ । नगर पालिकाले सूचना प्रकाशित गर्दै तोकिएको अवधिभित्र अतिक्रमित संरचना स्वयं हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो ।
नगरपालिकाका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र बमोजिम सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने निर्देश प्राप्त भएपछि सोही आधारमा यस्तो कदम चालिएको हो ।
साथै, चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार वीरेन्द्रनगर नगरपालिका–८ क्षेत्रमा महिला व्यवसायिक भवन निर्माण अघि बढाउने क्रममा उक्त जग्गामा अतिक्रमण भएको पाइएको जनाइएको छ ।
सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अतिक्रमण गरी बनाइएका संरचना स्वयं हटाउन आग्रह गरिएको छ । तोकिएको समयभित्र संरचना नहटाइएमा प्रचलित कानूनअनुसार नगरपालिकाले आफैं हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी दिइएको छ । नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित शहरी विकासको अभियानमा सहयोग गर्न सरोकारवालालाई अपिल गरेको छ ।











