बाँके, २७ बैशाख ।
चौथो संस्करणको कोहलपुर गोल्डकपको ट्रफि आयोजक रेसिङ साहारा क्लबले उचालेको छ । शनिबार सम्पन्न फाईनल खेलमा नेपाल पुलिस क्लबलाई ३ का बिरूद्द ४ गोलले हराउँदै रेसिङ साहाराले ट्रफि उचालेको हो ।
कोहलपुर–२ स्थित फुटबल मैदानमा सम्पन्न फाईनल खेल ट्राईबेकरमा पुगेको थियो । निर्धारीत समयमा दुबै टिमले १–१ गोल गरेपछि खेल ट्राईबेकरमा धकेलीएको थियो । खेलको सुरू भएको ५ मिनेटमै रेसिङ साहारा क्लबका १८ नम्बर जर्सिका खेलाडि चेतन चौधरीले गोल गरेका थिए । दोस्रो हाफको पहिलो मिनेटमै नेपाल पुलिसका धिरेन्द्र शाहले उत्कृष्ट गोल फर्काउँदै नतिजा बराबर गरेका थिए । ९० मिनेटको खेलमा दुबै टिमले थप गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो ।
ट्राईबेकरमा समेत नतिजा बराबर भएपछि खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा रेसिङ साहाराका फागुराम चौधरी, चेतन चौधरी, सन्दिप के.सी. र सुजन मगरले गोल गरेर नतिजा आफ्नो पक्षमा पारेका थिए । नेपाल पुलिस क्लबका राम वाजी, सन्जिव लामा र हेमन्त श्रेष्ठले मात्र गोल फर्काएका थिए ।
प्रतियोगिताका म्यान अफ द म्याच नेपाल पुलिसका संजिव लामा घोषित भए । उनले ट्रफि सहित नगद रू. पाँच हजार प्राप्त गरे ।
प्रतियोगिताको बिजेता रेसिङ साहारा क्लबले ट्रफी सहित ८ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी उप–बिजेतामै सिमित भएको नेपाल पुलिस क्लबले ट्रफी सहित ४ लाख नगद पुरस्कार हात पारेको छ ।
प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी बन्दै कोहलपुर रेसिङ साहारा क्लबका मुकुन्द घर्ती मगरले ५१ हजार रूपैयाँ प्राप्त गरेका छन । प्रतियोगिताका बिजेता र उपबिजेतालाई कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले चेक, ट्रफि र मेडल प्रदान गरेका थिए । यहि बैशाख १९ गतेदेखि सुरू भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाईनल खेल हेर्न मैदानमा उल्लेख्य मात्रामा दर्शक उपस्थित भएका थिए । पहिलो पटक प्याराफिटमा बसेर दर्शकहरूले खेलको आनन्द लिएका छन ।










