बाँके ,३० बैशाख ।
नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत लक्षित उमेर समूहका सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेपछि उपमहानगरपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक कुमारी पुष्पा सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी ले नेपालगञ्जलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नुभएको थियो ।
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार पालिकाभित्र १५ महिनामुनिका ३ हजार ४ सय ३८ जना तथा १६ देखि २३ महिनासम्मका २ हजार ७ सय ३५ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप प्राप्त गरेपछि घोषणा प्रक्रिया पूरा गरिएको हो । उहाँले खोप सेवाबाट छुटेका शून्य डोजका १२ जना बालबालिका तथा नियमित खोप नलगाएका २ सय ७६ जना बालबालिकालाई समेत खोजी गरी घरघरमै पुगेर खोप सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख चौधरीले अझै पनि समुदायमा खोपसम्बन्धी चेतनाको कमी देखिएकाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियता आवश्यक रहेको बताउनुभयो । उहाँले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिन स्थानीय तह निरन्तर जिम्मेवार र प्रतिबद्ध रहनुपर्नेमा जोड दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाले खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थामार्फत नियमित अनुगमन, अभिभावक सचेतना कार्यक्रम तथा घरदैलो अभियान सञ्चालन गर्दै आएको जनाएको छ । विशेषगरी बालबालिकामा हुन सक्ने विभिन्न संक्रामक रोग नियन्त्रण तथा बाल मृत्युदर न्यूनीकरणमा खोप कार्यक्रम प्रभावकारी माध्यम बनेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बम, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत देवनारायण उपाध्याय लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गर्नुभएको थियो ।
त्यस अवसरमा जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय, महिला स्वास्थ्य स्वयंसेविका संघलगायत खोप अभियानमा योगदान पुर्याउने विभिन्न निकाय तथा व्यक्तिहरूलाई मायाको चिनोसहित सम्मान गरिएको जनस्वास्थ्य निरीक्षक तेज ओलीले जानकारी दिनुभयो ।










