बाँके ,२ जेठ ।
बाँकेको जानकी गाउँपालिका ले सरकारद्वारा सञ्चालन गरिएको ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियानलाई उत्साहपूर्ण रूपमा साथ दिँदै गाउँपालिका परिसरमै सरसफाइ कार्यक्रम सञ्चालन गरेर अभियानको औपचारिक शुभारम्भ गरेको छ । बहुजातीय, बहुसांस्कृतिक तथा मधेशी, मुस्लिम र दलित समुदायको बाक्लो बसोबास रहेको पालिकाले सरसफाइलाई केवल औपचारिक कार्यक्रम नभई सामाजिक व्यवहार परिवर्तनसँग जोडिएको अभियानका रूपमा अघि बढाउने जनाएको छ ।
संघीय सरकारले सोमबारदेखि जेठ ८ गतेसम्म संघ, प्रदेश तथा स्थानीय तहअन्तर्गतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै जानकी गाउँपालिकाले पनि त्यसलाई व्यवहारमै कार्यान्वयन गर्न थालेको हो ।
अभियानको उद्घाटन गाउँपालिका अध्यक्ष छब्बन खाँले आफ्नै हातले सरसफाइ गर्दै गर्नुभयो । उहाँले सरसफाइलाई विकास र सभ्य समाज निर्माणको आधारका रूपमा व्याख्या गर्दै यसलाई हरेक नागरिकको दैनिकी र संस्कारसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “हामी विकासका धेरै कुरा गर्छौं, तर सरसफाइ बिना कुनै पनि विकास दिगो हुँदैन सफा वातावरणले मात्रै स्वस्थ समाज निर्माण गर्न सक्छ । पालिकामा दैनिक सयौँ सेवाग्राही आउनुहुन्छ, त्यसैले हामीले परिवर्तनको सुरुवात यहीँबाट गरेका हौँ । कार्यालय सफा भयो भने सेवाग्राहीको मनमा पनि सकारात्मक सन्देश जान्छ । सरसफाइ अरूलाई सिकाउने कुरा मात्र होइन, आफैँबाट सुरु गर्नुपर्ने जिम्मेवारी हो ।”
अध्यक्ष खाँले अभियानलाई पालिका भवनभित्र सीमित नराखी विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय, बजार क्षेत्र तथा सार्वजनिक स्थलसम्म विस्तार गरिने जानकारी दिनुभयो । उहाँले प्रत्येक नागरिकले आफ्नो घर, आँगन, बाटो, विद्यालय र कार्यालयलाई आफ्नै जिम्मेवारी ठानेर सफा राख्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव ले सरकारले स्वीकृत गरेको ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शक–२०८३’ प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो । उहाँका अनुसार कार्यालय सरसफाइ, शौचालय स्वच्छता, क्यान्टिन व्यवस्थापन, फोहोर व्यवस्थापन, सेवाग्राही सन्तुष्टि तथा संस्थागत अनुगमनलाई अभियानका मुख्य सूचकका रूपमा लिइएको छ ।
उहाँले समाजमा अझै पनि सरसफाइप्रति पर्याप्त चेतनाको अभाव रहेको उल्लेख गर्दै सडक पेटीमा पशु बाँध्ने, जथाभावी फोहोर फाल्ने तथा सार्वजनिक स्थल दुर्गन्धित बनाउने प्रवृत्ति रोक्न आवश्यक परे कडा निगरानी र कारवाहीसमेत गरिने चेतावनी दिनुभयो ।
उपाध्यक्ष यादवले भन्नुभयो, “सरसफाइ बिना मानिसको जीवन स्वस्थ र सम्मानित बन्न सक्दैन । सफा वातावरणले मात्रै बालबालिकाको भविष्य सुरक्षित हुन्छ, रोग कम हुन्छ र समाजमा अनुशासन बढ्छ । त्यसैले यो अभियानलाई एक हप्ताको कार्यक्रम नभई सामाजिक आन्दोलनका रूपमा अघि बढाउन आवश्यक छ ।”
निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णा कुमारी भण्डारी ले कार्यविधिअनुसार कार्यालय वरपर १०० मिटर क्षेत्रभित्रको सरसफाइसमेत सम्बन्धित कार्यालयकै जिम्मेवारीभित्र पर्ने जानकारी दिनुभयो । उहाँका अनुसार अब प्रत्येक कार्यालय प्रमुखले नियमित अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरिएको छ ।
उहाँले भन्नुभयो, “सरसफाइलाई एक दिनको अभियान बनाएर छोडिँदैन । यसलाई वर्षभरि निरन्तर सञ्चालन गरिनेछ । सेवाग्राही कार्यालयमा आउँदा पहिलो प्रभाव नै स्वच्छता र व्यवस्थित वातावरणले पार्छ । त्यसैले अब सरकारी कार्यालयलाई सेवामैत्री, सफा र व्यवस्थित बनाउने दिशामा काम अघि बढाइनेछ ।”
भण्डारीका अनुसार सरकारी कार्यालयभित्र रहेका सूचना बोर्ड, नागरिक बडापत्र तथा सङ्केत चिह्नहरूलाई थप व्यवस्थित र स्पष्ट बनाइनेछ भने चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत, रंगरोगन तथा सेवा क्षेत्रलाई आकर्षक बनाउने तयारीसमेत सुरु गरिएको छ ।
कार्यक्रममा विपद् शाखा प्रमुख राजेन्द्र बाजपाई ले पालिका परिसरको व्यापक सरसफाइ गरिएको जानकारी दिँदै अभियानलाई समुदायस्तरसम्म विस्तार गरिने बताउनुभयो ।
यस्तै, योजना शाखा प्रमुख शोभा पौडेल, सूचना प्रविधि अधिकृत विकास जिसी, प्रशासन शाखा प्रमुख गोपी चौलागाई लगायत विभिन्न शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
जानकी गाउँपालिकाले सुरु गरेको यो अभियानलाई केवल सरकारी कार्यक्रम नभई सामाजिक व्यवहार परिवर्तनको सशक्त सन्देशका रूपमा हेरिएको छ । विविध समुदायको साझा बसोबास रहेको पालिकाबाट उठेको “सरसफाइ आफैँबाट सुरु गरौँ” भन्ने सन्देशले स्थानीय तहमा सकारात्मक उदाहरण प्रस्तुत गरेको स्थानीयवासीको भनाइ छ ।









