बाँके ,३ जेठ ।
नेपालगञ्ज उपमहानगरपालिकाले नेपाल पत्रकार महासङ्घसँगको सहकार्यमा पत्रकारहरूको हितका लागि १५ लाख रुपैयाँको पत्रकार कल्याणकारी अक्षय कोष स्थापना गर्ने भएको छ । उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासङ्घ बाँकेद्वारा आयोजित कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी चार दिने अभिमुखीकरण तालिम उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले उक्त घोषणा गर्नुभएको हो ।
नगर प्रमुख विष्टले चालु आर्थिक वर्षमै १५ लाख रुपैयाँको मूलधनबाट अक्षय कोष स्थापना गरिने र त्यसमा प्रत्येक वर्ष ५ लाख रुपैयाँ थप्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार कोष सञ्चालनसम्बन्धी कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
“अब हामी छिट्टै सुरुको मूलधन १५ लाख हुने गरी अक्षय कोष खडा गर्दैछौँ । त्यसमा प्रत्येक वर्ष ५ लाख थप्दै जान्छौँ,” नगर प्रमुख विष्टले भन्नुभयो, “जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा यसको औपचारिक घोषणा गर्ने तयारी गरेका छौँ ।”
उहाँले मिडिया प्रवर्द्धन कार्यक्रमलाई पनि व्यवस्थित र प्रभावकारी बनाउन कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । आगामी आर्थिक वर्षदेखि नै ती कार्यक्रमहरू कार्यान्वयनमा जाने उहाँको भनाइ थियो । नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि नै सञ्चार नीति निर्माण गरिसकेको छ ।
नगर प्रमुख विष्टले डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्र पनि परिवर्तनको चरणमा रहेकाले पत्रकारहरूलाई समयअनुसार दक्ष, सक्षम र आत्मविश्वासी बनाउन एआईसम्बन्धी तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासङ्घका प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकारितामा कृत्रिम बुद्धिमत्ताको विवेकपूर्ण प्रयोग आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारहरूले समयअनुसार आफूलाई अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिँदै तालिमले पत्रकारहरूको सीप, क्षमता र आत्मविश्वास अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शाखा अध्यक्ष गिरीले पत्रकारहरूको क्षमता विकास र प्रविधिमैत्री पत्रकारिता प्रवर्द्धनका लागि एआई तालिम आयोजना गरिएको बताउनुभयो ।
“आज विश्व तीव्र रूपमा प्रविधिमैत्री बन्दै गएको छ । पत्रकारिता पनि अब परम्परागत सीमाभन्दा बाहिर पुगिसकेको छ,” अध्यक्ष गिरीले भन्नुभयो, “समाचार लेखन, तथ्य जाँच, भिडियो सम्पादन, सामग्री निर्माण, अनुसन्धान तथा सूचनाको विश्लेषणसम्म एआईको प्रयोग हुन थालेको छ । यस्तो अवस्थामा पत्रकारहरूले आफूलाई समयअनुसार अद्यावधिक गर्नु अत्यावश्यक बनेको छ ।”
तालिममा बाँके जिल्लाका ४० जना पत्रकारहरूको सहभागिता रहेको छ । तालिममा जीवन भण्डारी र उमङ्ग निरौलाले सहजीकरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।











