जुम्ला ,४ जेठ ।
मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा All Nepal Sports Foundation को सहकार्यमा सम्पन्न ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धिरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम भएका छन्। धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको छायाँनाथ क्षेत्रलाई अन्तर्राष्ट्रिय साहसिक पर्यटन गन्तव्यका रूपमा चिनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो।
आइतबार बिहान ६ः४० बजे किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको अल्ट्रा रेस छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर समापन भएको थियो। कठिन हिमाली भूगोल र प्राकृतिक सौन्दर्यबीच सम्पन्न प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी कुल ५८ जना धावक सहभागी भएका थिए।
पुरुषतर्फ धिरबहादुर बुढाले ३ घण्टा ५७ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम स्थान हात पारे। दलबहादुर कुँवर ४ घण्टा २ मिनेट १० सेकेन्डसहित दोस्रो तथा चन्द्रबहादुर रावत ४ घण्टा ५ मिनेटमा तेस्रो भए। अर्जुन कुलुङ राई चौथो तथा रमेश लिम्बु पाँचौँ स्थानमा रहे।
महिलातर्फ सुनमाया बुढाले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन्। राममाया बुढा दोस्रो तथा कल्पना बुढा तेस्रो भइन्। सम्जेदा बुढा चौथो र निर्मला राई पाँचौँ स्थानमा रहिन्।
गाउँपालिकाका सूचना अधिकारी सोबिन्द्र मल्लका अनुसार प्रतियोगितामा सहभागीमध्ये २३ जना अन्तर्राष्ट्रिय मापदण्डका खेलाडी थिए। प्रतियोगितामा २ जना एलिट, ५ जना इन्टरमिडिएट, ९ जना एड्भान्स र ७ जना एक्सप्लोर वर्गका धावकको सहभागिता रहेको थियो।
नेपाल एड्भेन्चर रनिङ महासंघ को प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा देशका चर्चित अल्ट्रा धावकहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ। एभरेस्ट, मञ्जुश्री, चाँगुनारायण, जुम्ला–रारा तथा रारा ट्रेल रनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका खेलाडीहरूको सहभागिताले प्रतियोगिता थप रोमाञ्चक बनेको संजय अधिकारी ले बताए।
मुख्य अल्ट्रा रेससँगै स्थानीयस्तरमा पाँच किलोमिटर दूरीको ‘फन रन’ पनि सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि अनलाइन र अफलाइन दुवै माध्यमबाट दर्ता खुला गरिएको थियो।
सोमबार विजेताहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। महिला तथा पुरुषतर्फ प्रथम हुनेले जनही दुई लाख रुपैयाँ, दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ७५ हजार तथा पाँचौँ हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। पाँच किलोमिटर ‘फन रन’तर्फ प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा ले छायाँनाथ क्षेत्रलाई धार्मिक तथा साहसिक खेल पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको बताए। यस्ता गतिविधिले स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र हिमाली जीवनशैलीलाई विश्वसामु परिचित गराउन मद्दत पुग्ने उनको विश्वास छ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावल ले प्रतियोगिताले स्थानीय पर्यटन, होटल व्यवसाय तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए।
आयोजकका अनुसार ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ले छायाँनाथ धामको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै हिमाली क्षेत्रको पर्यटन विकाससँगै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन समेत प्रतियोगिता प्रभावकारी हुने विश्वास गरिएको छ।










