कोहलपुर, ४ जेठ ।
नेपालको प्रतिनिधित्व गर्दै मंगोलियामा आयोजना हुने एशियन तेक्वान्दो पुम्से च्याम्पियनसिप–२०२६ मा सहभागी हुन नेपाली टोली शनिबार प्रस्थान गरेको छ । यही मे १९ र २० मा मंगोलियाको उल्लानबातारमा सञ्चालन हुने प्रतियोगितामा बाँकेको कोहलपुर–११ का कमल रानाले पनि सहभागिता जनाउँदैछन् । यो कोहलपुरका लागि अर्को ऐतिहाँसिक क्षण बनेको छ ।
टोलीमा कोच कबिराज खड्काको नेतृत्व रहनेछ भने खेलाडीका रूपमा युवराज राना र स्वस्तिका तामाङ सहभागी छन् । प्रस्थान हुनुअघि सबै खेलाडीलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रको नाम उच्च राख्न सफल हुने कोच खड्काले बताए ।
कोहलपुरबाट खेल जीवन सुरु गरेका कमल रानाले यसअघि विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै थुप्रै पदक जितिसकेका छन् । हाल उनी नेपाल तेक्वान्दो संघमा नियमित प्रशिक्षणरत छन् र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् ।
नेपाल तेक्वान्दो संघ बाँकेका अध्यक्ष प्रकाश लामिछानेले पश्चिम नेपालका खेलाडीहरूले निरन्तर राष्ट्रलाई चिनाउने गरी प्रतिनिधित्व गर्दै आएको भन्दै यसले आफूहरूलाई गर्व र खुशी दिलाएको बताए । उनले खेलाडीहरूको सफलताले यस क्षेत्रका नयाँ पुस्तालाई खेलतर्फ थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
संघका अध्यक्ष लामिछानेले कोहलपुरको खेल इतिहासमा अर्को गौरवपूर्ण अध्याय थपिएको यस अवसरले समग्र क्षेत्रलाई उत्साहित बनाएको बताए । उनले भने,–“सबैको अपेक्षा छ, नेपाली टोलीले“ मंगोलियामा उत्कृष्ट प्रदर्शन गर्दै देशको शिर अझ उँचो बनाउने छ ।










