बाँकेको कोहलपुर–५ स्थित वेस्टर्न ई.मि सेकेन्डरी स्कुल ले उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने छात्रालाई छात्रवृत्ति प्रमाणपत्र प्रदान गरेको छ । विद्यालयले कक्षा ११ मा अध्ययनरत छात्रा प्रतिमा बुढालाई छात्रवृत्ति तथा सम्मान प्रदान गरेको जनाएको छ ।विद्यालयका अनुसार बैजनाथ गाउँपालिका–१ निवासी प्रतिमा बुढा दिप बहादुर बुढा र हजारी बुढाकी छोरी हुन् । उनी २०८२ सालदेखि विद्यालयमा नियमित तथा आधिकारिक विद्यार्थीको रूपमा अध्ययनरत रहेकी छन् ।

विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रतिमाले २०८२ सालको तेस्रो त्रैमासिक परीक्षामा पूर्णाङ्क ६०० मध्ये ४७३ अंक प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेकी हुन् । विद्यालय प्रशासनका अनुसार उनी पढाइमा अब्बल हुनुका साथै अनुशासित र नैतिक चरित्र राम्रो भएकी विद्यार्थी हुन् ।
विद्यालयका प्रधानाध्यापक उमेश श्रेष्ठ ले प्रतिमाको मेहनत, लगनशीलता र निरन्तर अध्ययनप्रतिको समर्पण प्रशंसनीय रहेको बताए । उनले विद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा सम्मान प्रदान गर्दै आएको जानकारी दिए ।
“प्रतिमाजस्ता मेहनती विद्यार्थी विद्यालयका लागि प्रेरणाका स्रोत हुन् । आगामी दिनमा पनि उनी अझ सफल बन्दै जाने विश्वास लिएका छौं,” प्रधानाध्यापक श्रेष्ठले भने ।
विद्यालयका संस्थापक कुबेर बस्नेत ले गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको मुख्य उद्देश्य रहेको बताए । उनले शैक्षिक उपलब्धिसँगै अनुशासन, नैतिकता र व्यवहारिक शिक्षामा विद्यालयले विशेष ध्यान दिँदै आएको उल्लेख गरे ।

“हामी विद्यार्थीलाई केवल परीक्षामा राम्रो अंक ल्याउने मात्र होइन, सक्षम, जिम्मेवार र समाजप्रति उत्तरदायी नागरिक बनाउने लक्ष्यका साथ अघि बढिरहेका छौं,” संस्थापक बस्नेतले बताए ।
कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले पनि प्रतिमाको उपलब्धिलाई प्रेरणादायी भएको बताएका छन् । उनीहरूले विद्यालयले प्रदान गर्ने छात्रवृत्ति र सम्मान कार्यक्रमले विद्यार्थीमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना विकास गर्ने विश्वास व्यक्त गरे ।
विद्यालयले आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।










