सामुदायिक कुकुर बन्ध्याकरण अभियान सम्पन्न : २८१ कुकुरलाई रेबिज खोप र रेडियम बेल्ट

  • नमस्ते कर्णाली

  • बाँके ,६ जेठ ।
    नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरबाट फैलिन सक्ने रेबिजजन्य रोग नियन्त्रण तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको चारदिने सामुदायिक कुकुर बन्ध्याकरण शिविर सम्पन्न गरेको छ ।
    उपमहानगरपालिका पशु स्वास्थ्य सेवा शाखाका प्रमुख लक्ष्मी शाहीका अनुसार शिविरमार्फत नगरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका सामुदायिक कुकुरको बन्ध्याकरण गरी रेबिजविरुद्धको खोप लगाइएको छ । साथै रातिको समयमा सवारी दुर्घटनाबाट जोगाउन कुकुरको घाँटीमा रेडियम बेल्ट समेत लगाएर पुनः समातिएकै स्थानमा छाडिएको उनले जानकारी दिइन् ।
    उनका अनुसार शिविरमा भाले र पोथी दुवै प्रकारका कुकुरको बन्ध्याकरण गरिएको हो । कार्यक्रम सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा कास्की, पोखरा फिल्ड अफिस–नेपालगञ्ज बाँकेको प्राविधिक सहयोग लिएको थियो ।
    शिविरमा सक्रिय पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा कास्की, पोखरा फिल्ड अफिस–नेपालगञ्ज बाँकेका प्रमुख तथा पशु चिकित्सक डा. सुदर्शन भट्टराईले बिहान नगरका विभिन्न क्षेत्रमा पुगेर सामुदायिक कुकुर समात्ने र दिनभर ती कुकुरको बन्ध्याकरण तथा उपचार गर्ने काम गरिएको बताए । उपचारपछि कुकुरलाई समातिएकै स्थानमा सुरक्षित रूपमा छाड्ने गरिएको उनको भनाइ छ ।
    डा. भट्टराईका अनुसार सामुदायिक कुकुरमा लुतो, किर्ना, उपियाँ तथा विभिन्न प्रकारका ट्युमरजन्य समस्या समेत देखिएको थियो । बन्ध्याकरणको क्रममा ती समस्याको आवश्यक उपचार पनि गरिएको उनले जानकारी दिए ।
    भेटेरिनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र नेपालगञ्जका निमित्त प्रमुख डा. गणेशबहादुर पुनले उपमहानगरपालिकाले सञ्चालन गरेको एन्टिरेबिज भ्याक्सिन, रेडियम बेल्ट तथा बन्ध्याकरण कार्यक्रम प्रभावकारी रहेको बताए । यस्ता कार्यक्रमले रेबिज संक्रमण नियन्त्रणमा सहयोग पुग्नुका साथै मानिस र सामुदायिक कुकुरबीचको सहअस्तित्वलाई सुरक्षित बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।
    उपमहानगरपालिकाका अनुसार नगरका २३ वटै वडाका विभिन्न टोलबाट नियन्त्रणमा लिइएका कुल २ सय ८१ सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । साथै सबै कुकुरलाई रेबिजविरुद्धको खोप र रेडियम बेल्ट लगाएर छाडिएको छ ।
    उपमहानगरपालिकाले यस्तो अभियानले रेबिज संक्रमणको जोखिम घटाउनुका साथै सामुदायिक कुकुरका कारण हुने सडक दुर्घटना समेत न्यूनीकरण हुने विश्वास व्यक्त गरेको छ ।

  • ६ जेष्ठ २०८३, बुधबार ०६:२० प्रकाशित

  • Nabintech