मुगुमा जलवायु परिवर्तन तथा हरित उद्यमशीलता सम्बन्धी विशेष कार्यक्रम सम्पन्न

  • सनत हमाल

  • मुगु— छायाँनाथ रारा नगरपालिका वडा नं. १२ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय, शोभा मुगुमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूका लागि जलवायु परिवर्तन, हरित उद्यमशीलता तथा दिगो भविष्य निर्माणसम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरिएको छ।

    उक्त कार्यक्रम School Life in Nepal Denmark को आर्थिक सहयोग तथा CDS–PARK मुगु संस्थाको आयोजनामा स्थानीय स्तरमा विद्यार्थीहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। कार्यक्रममा सहभागी विद्यार्थीहरूको बेसलाइन सर्वेक्षण सञ्चालन गर्नुका साथै महिला, पुरुष,दलित गरिब तथा पिछडिएका समुदायका विद्यार्थीहरूलाई समेटेर विभिन्न समूह गठन गरिएको थियो। गठन गरिएका समूहहरूले प्रत्येक शुक्रबार नियमित बैठक सञ्चालन गरी जलवायु परिवर्तनले गाउँ, समाज तथा विद्यालयमा पारेका प्रभाव, चुनौती तथा समाधानका उपायबारे छलफल गर्ने योजना तय गरेका छन्।

    कार्यक्रममा सक्रिय नागरिकता, हरित उद्यमशीलता तथा दिगो विकाससम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो। सहभागी विद्यार्थीहरूलाई स्थानीय वातावरणीय चुनौतीहरू पहिचान गरी जलवायु मैत्री तथा हरित भविष्य निर्माणमा योगदान पुग्ने नवीन सोच र समाधान विकास गर्न प्रेरित गरिएको थियो। साथै “पढ्दै कमाउने” अवधारणामार्फत सीप विकास तथा भविष्यमा रोजगारी सिर्जना गर्ने सम्भावनाबारे समेत जानकारी गराइएको थियो।

    कार्यक्रम संयोजक मोहन शाहीका अनुसार अब सञ्चालन गरिने तालिम तथा सहजीकरण कार्यक्रमपश्चात् आगामी १ वर्षभित्र विद्यार्थीहरूको समूहले आफ्नै साना व्यवसाय सुरु गर्ने योजना रहेको छ। यसले विद्यार्थीहरूमा आत्मनिर्भरता, उद्यमशीलता तथा व्यवहारिक सीप विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक संघका अध्यक्ष, स्थानीय अभिभावक, संस्थाका कर्मचारी, सिडिएस–पार्कका बोर्ड सदस्य, सहजकर्ताहरू तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
    कार्यक्रमका क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले शोभा क्षेत्र नगरपालिकाभित्रकै दुर्गम तथा पिछडिएको क्षेत्र भएको उल्लेख गर्दै विद्युत, यातायात तथा सडक पहुँच सीमित रहेको अवस्थामा पहिलो पटक यस्ता प्रकारका कार्यक्रम सञ्चालन हुनु विद्यालयका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँहरूले यस कार्यक्रमले विद्यार्थीहरूलाई शिक्षासँगै व्यवसायिक तथा सीपमूलक अवसरतर्फ प्रेरित गरेको भन्दै आयोजक संस्था तथा सहयोगी पक्षप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

    विद्यालयका फोकल शिक्षक धनजित सावतले जलवायु परिवर्तन न्यूनीकरणका लागि विद्यालय र घरपरिवार तहबाटै साना–साना अभ्यास सुरु गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले आफ्नै घरमा प्रयोगपछि फालिएका प्लास्टिकका बोतल तथा बाल्टिनलाई पुनः प्रयोग गर्दै फूलका गमला तयार गरी वातावरण संरक्षण तथा सरसफाइप्रति सकारात्मक सन्देश दिने प्रयास गरिएको जानकारी दिनुभयो। साथै, फालिएको फोहोर प्लास्टिकबाट पनि मोहोर कमाउन सकिन्छ भन्ने सन्देश दिँदै यस्ता सिर्जनात्मक अभ्यासहरूले विद्यार्थीहरूलाई पुनः प्रयोग (Reuse), उद्यमशीलता र वातावरणमैत्री व्यवहारतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

    उक्त संस्थाका कार्यक्रम संयोजक मोहन शाहीले कार्यक्रमले विद्यार्थीहरूमा जलवायु परिवर्तनप्रति सचेतना वृद्धि गर्नुका साथै हरित उद्यमशीलता, सक्रिय नागरिकता तथा आत्मनिर्भर भविष्य निर्माणतर्फ सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको जानकारी दिनुभयो।

  • ६ जेष्ठ २०८३, बुधबार १७:५६ प्रकाशित

  • Nabintech