बाँके ,१० जेठ ।
बाँकेको कोहलपुर क्षेत्रमा पछिल्लो समय हुने सभा, सम्मेलन, सरकारी तथा गैरसरकारी कार्यक्रमहरूमा मोही अनिवार्यजस्तै बन्न थालेको छ । चर्को गर्मीका बीच स्थानीय उत्पादनलाई प्राथमिकता दिने अभियानसँगै कोहलपुरमा “मोही संस्कृति” विस्तार हुँदै गएको हो ।
४३/४४ डिग्रीसम्म पुग्ने गर्मीमा कोक, फेन्टा, ड्युजस्ता आयातित केमिकलयुक्त चिसोपेयभन्दा मोही स्वास्थ्यवर्दक र शरीरलाई शितलता दिने पेय भएको भन्दै स्थानीयले यसको प्रयोग बढाएका छन् । गर्मीमा शरीरलाई चिसो राख्नुका साथै पाचन प्रणालीलाई समेत सहज बनाउने भएकाले पछिल्ला वर्षहरूमा मोहीप्रतिको आकर्षण तीव्र बनेको स्थानीयको भनाइ छ ।
कोहलपुर–१० कालिकानगरका सन्तोष पौडेलले सञ्चालन गर्दै आएको “ए वान डेरी” अहिले मोही उत्पादनका कारण कोहलपुरमा चर्चित बनेको छ । नाति, मदानी र गिठाको ठेकी प्रयोग गरेर परम्परागत शैलीमा मोही बनाउने पौडेल आधुनिक समयमा पनि पुरानो संस्कृतिलाई जोगाइरहेका छन् ।
दुग्ध विकास संस्थानमा प्राविधिक काम गर्दागर्दै २०७४ सालमा एक लाख रुपैयाँ लगानीबाट डेरी व्यवसाय सुरु गरेका पौडेलले अहिले आफ्नो व्यवसायलाई ५० लाख रुपैयाँभन्दा बढीको बनाइसकेका छन् । सुरुमा कोहलपुर–११ न्युरोडबाट व्यवसाय थालेका उनले २०७६ सालदेखि आफ्नै घरबाट उद्योग व्यवस्थित रूपमा सञ्चालन गर्दै आएका छन् ।
उनको डेरीमा अहिले तीन वटा चिलिङ भ्याट, दूध चिस्याउने तथा तताउने मेसिन र फ्याट निकाल्ने उपकरण समेत छन् । दैनिक ६ देखि ७ सय लिटरसम्म दूध खपत हुने उद्योगका लागि बाँकेको नरैनापुर, ढकेरी, कम्दी तथा बर्दियाको लक्ष्मणा र भुरीगाउँबाट दूध संकलन गरिन्छ ।
पौडेलले बजारमा पाइने विभिन्न चिसोपेयको विकल्पका रूपमा मोहीलाई स्थापित गर्न सफल भएको बताउँछन् । “मानिसहरू अहिले स्वास्थ्यप्रति सचेत बन्दै गएका छन् । कोक, फेन्टा जस्ता पेयभन्दा मोही धेरै स्वास्थ्यवर्दक भएको बुझाइ बढेकाले माग ह्वात्तै बढेको छ,” उनले भने ।
कोहलपुर नगरपालिकाको स्थापना दिवसमा समेत मोही वितरण भएपछि स्थानीय उत्पादनको प्रवर्द्धनमा सकारात्मक सन्देश गएको पौडेलको भनाइ छ । जुम्लाबाट एउटै ठेकी १५ हजार रुपैयाँसम्म खर्च गरेर मगाइएको उनले बताए । अहिले त मोही पार्ने शैली हेर्न र तस्वीर खिचेर सामाजिक सञ्जालमा राख्न आउनेहरूको समेत भीड लाग्ने गरेको छ ।
स्थानीय सेवाग्राही माया थापाले गर्मीमा मोहीभन्दा राम्रो पेय अरू नभएको बताइन् । “पहिला कार्यक्रमहरूमा कोक, फेन्टा धेरै हुन्थ्यो, अहिले मोही खान पाइन्छ । यसले शरीरलाई शितल बनाउँछ र स्वास्थ्यका लागि पनि राम्रो छ,” उनले भनिन् ।
त्यस्तै अर्का स्थानीय सेवाग्राही अर्जुन वलीले स्थानीय उत्पादनको प्रयोग बढ्नु सकारात्मक भएको बताए । “विदेशी केमिकलयुक्त पेयभन्दा हाम्रो गाउँघरको मोही धेरै राम्रो हो । किसानको दूध पनि बिक्री हुन्छ, उपभोक्ताले स्वस्थ पेय पनि पाउँछन्,” उनले भने ।
सन्तोष पौडेलको डेरीमा बिहानैदेखि दूध, दही र मोही लिन आउने ग्राहकको भीड लाग्ने गर्छ । ग्राहकको चाहनाअनुसार उनले होम डेलिभरी सेवा समेत सञ्चालन गरेका छन् भने ठूला कार्यक्रमहरूमा आफैं गाडी चलाएर मोही पुर्याउने गरेका छन् ।
उनको उद्योगले चार जनालाई रोजगारी दिएको छ । खर्च कटाएर मासिक ६० देखि ७० हजार रुपैयाँसम्म बचत हुने पौडेल बताउँछन् ।
पौडेलको मेहनत र लगनशीलताले अहिले कोहलपुरमा छुट्टै पहिचान बनाएको छ । उनका दाजु तथा कोहलपुर–१० का जनप्रतिनिधि भीम पौडेलले भाइको सफलताले अन्य युवालाई पनि स्वदेशमै केही गर्न प्रेरणा दिएको बताए ।
“उसले कामलाई कहिल्यै सानो–ठूलो भनेर हेरेन । इमान्दार भएर निरन्तर मेहनत गर्यो, त्यसैले आज कोहलपुरमा आफ्नै पहिचान बनाउन सफल भएको छ,” उनले भने ।









