बाँके ,११ जेठ ।
बाँके जिल्लामा केही दिनयता तातो हावा (लु) चल्न थालेपछि भीषण गर्मी बढ्दै गएको छ । आगोजस्तै पोल्ने तातो हावा र अत्यधिक तापक्रमका कारण बाँकेसहित पश्चिम तराईका जिल्लाहरूको जनजीवन अस्तव्यस्त बनेको हो ।
बिहान ७ बजेदेखिनै चर्को घाम लाग्ने, शरीर पोल्ने तातो हावा चल्ने तथा पसिनाले शरीर भिजेर नुहाएजस्तै हुने अवस्थाले स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ । अत्यधिक गर्मीका कारण बजार, सडक तथा सार्वजनिक स्थलहरू दिउँसो सुनसानजस्तै देखिन थालेका छन् ।
नेपालगञ्जको त्रिभुवन चोकका व्यवसायी नितेष राईले धेरै वर्षपछि जेठको सुरुमै यस्तो गर्मी अनुभव गरिएको बताउनुभयो ।
“दिउँसोको समयमा मानिसहरू घरबाहिर निस्कनै छाडेका छन् । पहिले जस्तो बजारमा चहलपहल छैन, व्यापार पनि निकै घटेको छ,” उहाँले भन्नुभयो ।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले एक्कासी बढेको गर्मी र लुका कारण जनजीवन नराम्ररी प्रभावित भएको बताउँदै दैनिक ज्यालादारी गरेर गुजारा चलाउने वर्ग सबैभन्दा बढी मारमा परेको उल्लेख गर्नुभयो ।
नेपालगञ्ज–१ का अटो रिक्सा चालक रशीद हलवाईले गर्मीका कारण यात्रु घट्दा आम्दानीमा प्रत्यक्ष असर परेको गुनासो गर्नुभयो ।
“दिउँसो सडकमा यात्रु नै भेटिन्नन् । गर्मीले अटो चलाउनै गाह्रो भएको छ, कमाइ पनि आधाभन्दा कम भएको छ,” उहाँले भन्नुभयो ।
निर्माण मजदुरी गर्दै आएका नेपालगञ्ज–८ का मजदुर रामकुमार थारुले चर्को घाममा काम गर्न निकै कठिन भएको बताउनुभयो ।
“घामले शरीर नै पोल्छ, धेरै बेर काम गर्न सकिँदैन । पानी धेरै पिउँदा पनि थकान कम हुँदैन,” उहाँले भन्नुभयो ।
यस्तै, दैनिक ज्यालादारी गर्दै आएकी कोहलपुरकी मजदुर माया विकले गर्मीका कारण काम गर्ने समय घटेको बताउनुभयो ।
“बिहानै काम सकेर फर्किनुपर्छ । दिउँसो त बाहिर बस्नै नसक्ने अवस्था छ,” उहाँले सुनाउनुभयो ।
अटो रिक्सा चालक, ठेला व्यवसायी तथा खुला आकाशमुनि काम गर्ने मजदुरहरू सबैभन्दा बढी प्रभावित बनेका छन् । सामान्यतया व्यस्त रहने नेपालगञ्जका सडक र चोकहरू अहिले दिउँसो सुनसान देखिन थालेका छन् ।
बढ्दो गर्मी र तातो हावालाई ध्यानमा राख्दै चिकित्सकहरूले अत्यावश्यक कामबाहेक दिउँसो बाहिर ननिस्कन, चिसो स्थानमा बस्न तथा बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने र हल्का सुती कपडा प्रयोग गर्न सुझाव दिएका छन् ।
भेरी अस्पतालका चिकित्सक डा. विपिन आचार्यले शरीरमा पानीको कमी हुन नदिन पर्याप्त मात्रामा पानी, जुस तथा अन्य झोल पदार्थ सेवन गर्न आग्रह गर्नुभएको छ । उहाँले गर्मीका कारण लु लाग्ने, टाउको दुख्ने, चक्कर आउने तथा शरीर कमजोर हुने समस्या बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो ।










