हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा पछिल्लो समय उत्पन्न तनाव तथा घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय टोली गठन गरेको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानबिन टोली बनाइएको जानकारी दिएको हो । गृह मन्त्रालयका अनुसार गृह सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको आकस्मिक बैठक बसेपछि उक्त निर्णय गरिएको हो । बैठकले सीमा क्षेत्रमा देखिएको विवाद, स्थानीयबीचको तनाव तथा सुरक्षा चुनौतीलाई गम्भीर रूपमा लिँदै तत्काल छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले गठन गरेको टोलीलाई तुरुन्त घटनास्थलमा खटिन, वस्तुस्थिति अध्ययन गर्न तथा यथाशीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय सक्रिय भएको उल्लेख गर्दै हुम्ला र बाजुरा दुवै जिल्लामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका विशेष टोली परिचालन गरिएको जनाएको छ ।
प्रेस विज्ञप्तिमा सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्दै शान्ति–सुरक्षालाई थप मजबुत बनाउन जिल्ला सुरक्षा समितिहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको उल्लेख छ । यस्ता घटना पुनः दोहोरिन नदिन सुरक्षा रणनीति प्रभावकारी रूपमा लागू गर्नसमेत मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिएको छ । त्यसैगरी, स्थिति नियन्त्रण तथा दीर्घकालीन शान्ति कायम गर्न आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ । विवादको स्थायी समाधान तथा स्थानीय तहबीच समन्वय कायम गर्न जनप्रतिनिधि र सरोकारवाला निकायहरूसँग पटक–पटक समन्वयात्मक बैठकसमेत आयोजना भइरहेको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई संयमता अपनाउन आग्रह गर्दै अफवाहमा नलाग्न तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । “आम नागरिकको जीवन रक्षासहित सीमा क्षेत्रमा शान्ति कायम राख्न गृह मन्त्रालय पूर्ण प्रतिबद्ध छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ । पछिल्लो समय हुम्ला–बाजुरा सीमा क्षेत्रको लाम्पाटा–रानीसैन क्षेत्रमा उत्पन्न विवाद र झडपका घटनापछि संघीय सरकारको चासो बढेको छ । स्थानीय तहबीच देखिएको सीमा विवादले तनाव बढेपछि सरकारले छानबिन र सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेको हो ।









