सुर्खेत ,१६ जेठ ।
सुर्खेतको वीरेन्द्रनगरमा जारी दोस्रो कर्णाली छोरी सम्मेलन अन्तर्गत ‘शासनको बागडोरमा छोरी’ सत्रमा सहभागी महिला जनप्रतिनिधिहरूले छोरी तथा किशोरीहरूको सशक्तीकरण, नेतृत्व विकास र राजनीतिक सहभागिता बढाउन स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् ।
उक्त सत्रको सहजिकरण पत्रकार प्रकाश अधिकारीले गरेका थिए । वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले स्थानीय सरकारका नीति, योजना र कार्यक्रमहरूमा महिला, बालबालिका तथा किशोरीलाई प्राथमिकतामा राखिएको बताइन् । उनले ‘छोरीको लागि गर्वको नगर, महिला मैत्री सहर’ नारासहित नगरपालिकाले छोरी जन्म बचत कार्यक्रम, निःशुल्क स्यानिटरी प्याड, गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स तथा भिडियो एक्सरे सेवा, ‘हेलो गर्भवती आमा’ कार्यक्रम, विद्यालय नर्स कार्यक्रमलगायतका योजना सञ्चालन गरिरहेको जानकारी दिइन् । ढकालले महिला तथा किशोरीमाथि हुने हिंसाप्रति नगरपालिका शून्य सहनशीलताको नीतिमा रहेको उल्लेख गर्दै महिलाको आर्थिक सशक्तीकरणका लागि स्वरोजगार, कृषि प्रविधि, सहकारी तथा उद्यमशीलतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको बताइन् । उनले आगामी दिनमा राजनीतिसहित सबै क्षेत्रमा महिलाको नेतृत्व बढ्नुपर्नेमा जोड दिँदै किशोरीहरूलाई अध्ययन, क्षमता विकास र नेतृत्वका लागि तयारी गर्न आग्रह गरिन् ।
यस्तै, भैरवी गाउँपालिकाकी अध्यक्ष रिता शाहीले किशोर–किशोरी लक्षित बहुवर्षीय कार्यक्रममार्फत अर्थपूर्ण सहभागिता, छात्रवृत्ति, प्राविधिक शिक्षा र नेतृत्व विकासका गतिविधि सञ्चालन भइरहेको बताइन् । उनले प्रदेश सरकारले निरन्तरता नदिए पनि गाउँपालिकाले छोरी बचत कार्यक्रम जारी राखेको जानकारी दिइन् ।
अध्यक्ष शाहीले महिला नेतृत्वप्रति अझै पनि समाजमा अविश्वास र क्षमतामाथि प्रश्न उठ्ने प्रवृत्ति रहेको उल्लेख गर्दै आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिरहेको बताइन् । उनले आफ्नो संघर्षपूर्ण जीवन अनुभव सुनाउँदै राजनीति र नेतृत्वमा सफल हुन अध्ययन, धैर्य, नैतिकता, सहनशीलता तथा जनविश्वास आवश्यक हुने धारणा राखिन् । किशोरीहरूको सुरक्षाका लागि आत्मरक्षा तालिमसमेत सञ्चालन गरिएको उनले जानकारी दिइन् । शारदा नगरपालिका–३ की वडाध्यक्ष तुल्सा भण्डारीले महिला तथा किशोरीहरूलाई आयआर्जन र सीप विकाससँग जोड्ने कार्यक्रम सञ्चालन भइरहेको बताइन् । महिला समूह तथा आमा समूहमार्फत विभिन्न सीपमूलक तालिम प्रदान गरिएको उनको भनाइ थियो । भण्डारीले स्थानीय तहमा नीति तथा कार्यक्रम निर्माणमा महिला नेतृत्वको सकारात्मक भूमिका रहेको उल्लेख गर्दै नागरिकता र जन्मदर्ता सम्बन्धी केही प्रशासनिक चुनौती भए पनि समन्वयमार्फत समाधान गरिँदै आएको बताइन् । उनले राजनीतिमा आउन चाहने छोरीहरूका लागि इमानदारिता, क्षमता, सहनशीलता र सामाजिक विश्वास महत्वपूर्ण आधार हुने धारणा व्यक्त गरिन् । सत्रमा सहभागी जनप्रतिनिधिहरूले छोरी र किशोरीहरूलाई शिक्षा, नेतृत्व, आर्थिक सशक्तीकरण तथा राजनीतिक सहभागितामार्फत निर्णय तहमा पुग्न प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।









