बाँके ,१७ जेठ ।
बाँकेको बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाका लागि संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा २ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेट वृद्धिसँगै आयोजनाको निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सिक्टा सिँचाइ आयोजनाका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिनुभयो। विनियोजित बजेटबाट पूर्वी तथा पश्चिमी नहरका विभिन्न खण्डको निर्माण सम्पन्न गरी थप ५ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको छ।
आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष करिब एक अर्ब रुपैयाँ बढी बजेट प्राप्त भएको हो। उहाँले बजेट वृद्धिले निर्माणाधीन संरचनाहरूको कामलाई तीव्रता दिन तथा बाँकी कार्यको पूर्वतयारीलाई सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।
हाल आयोजनाअन्तर्गत डुडुवा शाखा नहर निर्माण कार्य जारी रहेको छ भने सिधनिया, प्रसेनीपुर र अकलघरुवा शाखा नहरका लागि ठेक्का सम्झौता भई निर्माण प्रक्रिया अघि बढाइएको छ। त्यस्तै गुरुवागाउँ र अकलघरुवा उपशाखा नहर तथा पूर्वी मूल नहरका बाँकी संरचनाको निर्माणका लागि आवश्यक पूर्वतयारीका कामसमेत भइरहेको आयोजनाले जनाएको छ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी जिल्लाका विशाल खेतीयोग्य क्षेत्रलाई वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यसहित आर्थिक वर्ष २०६२/०६३ मा आयोजना सुरु गरिएको थियो। संशोधित गुरुयोजनाअनुसार आयोजनालाई आर्थिक वर्ष २०८९/०९० भित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ।
आयोजनाको पश्चिमी मूल नहरमार्फत राप्ती नदीको पश्चिमी भेगका ३३ हजार ७६६ हेक्टर तथा पूर्वी मूल नहरमार्फत पूर्वी भेगका करिब ९ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ। यससँगै बाँके जिल्लाको कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण तथा किसानको आयस्तर उकास्न आयोजनाले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
संशोधित गुरुयोजनाअनुसार सिक्टा सिँचाइ आयोजनाको कुल लागत ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। आयोजना पूर्णरूपमा सम्पन्न भएपछि बाँकेका हजारौं किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने र जिल्लाको कृषि क्षेत्रमा दीर्घकालीन परिवर्तन आउने विश्वास गरिएको छ।









