कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन् ः सोनाम भुट्टी

  • नमस्ते कर्णाली

  • सुर्खेत, १७ जेठ ।
    डोल्पाकी शिक्षाकर्मी सोनाम भुट्टी गुरुङले कर्णालीका दुर्गम बस्ती अझै पनि राज्यको मूलधारबाट टाढा रहेको बताएकी छन् । वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको कर्णाली छोरी सम्मेलनको ‘प्रेरणाको प्रतिविम्ब’ सत्रमा बोल्दै गुरुङले डोल्पा, मुगु र हुम्लाका विद्यार्थीहरू वर्षको आधा समय मात्र विद्यालय जान पाउने अवस्थाले उनीहरू प्रतिस्पर्धामा पछि पर्न बाध्य भइरहेको बताइन । उक्त सत्रको सहजिकरण पत्रकार यज्ञ खत्रीले गरेका थिए । ‘आरक्षण दिनुभन्दा पहिले शिक्षा, स्वास्थ्य, खाना र आवासको आधार तयार गर्नुपर्छ,’ उनले भनिन् । राज्यले दुर्गम क्षेत्रका नागरिकलाई अवसरको समान पहुँच दिन नसकेको उल्लेख गर्दै उनले कर्णालीका बासिन्दालाई सहानुभूतिको पात्र नभई सम्भावनाको केन्द्रका रूपमा हेर्न आग्रह गरिन् ।
    उनले आफ्नो सफलताको प्रमुख प्रेरणा आमालाई मान्दै महिलाको शिक्षा र आत्मनिर्भरता नै सामाजिक परिवर्तनको आधार भएको धारणा व्यक्त गरिन् । छोरीलाई अझै पनि ‘अर्काको घर जाने जात’ भनेर हेर्ने सोच कायम रहेको भन्दै उनले महिलाहरूले कानुनी अधिकार, शिक्षा र आत्मविश्वासका माध्यमबाट विभेदविरुद्ध उभिनुपर्ने बताइन् ।
    सत्रकी अर्की वक्ता तथा एमबीबीएस अध्ययनरत झरना बडुवालले कर्णालीमा भौतिक विकास भए पनि लैङ्गिक दृष्टिकोणमा अपेक्षित परिवर्तन आउन नसकेको बताइन् । छोरीहरूको करियरलाई विवाहसँग जोडेर हेर्ने प्रवृत्ति अझै कायम रहेको उल्लेख गर्दै उनले महिलाहरूलाई क्षमता अनुसार अवसर प्राप्त गर्ने वातावरण निर्माण हुन नसकेको धारणा राखिन् । बडुवालले कर्णालीमा मातृ मृत्युदर राष्ट्रिय औसतभन्दा उच्च रहेको तथ्य प्रस्तुत गर्दै यसको प्रमुख कारण स्वास्थ्य सेवाको अभावसँगै पितृसत्तात्मक सोच रहेको बताइन् । महिलाहरूले आफ्ना स्वास्थ्य समस्या खुलेर राख्न नसक्ने र स्वास्थ्यलाई प्राथमिकता नदिने प्रवृत्ति अझै कायम रहेको उनको भनाइ थियो ।

  • १७ जेष्ठ २०८३, आईतवार ११:०५ प्रकाशित

  • Nabintech