नेपालगञ्ज ,२३ जेठ ।
नेपालगञ्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने सो राष्ट्रिय सम्मेलन हुन लागेको हो ।
इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. निरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा देखिएका समस्या समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनका अनुसार सम्मेलनमा विभिन्न विषयगत नौ वटा सत्र सञ्चालन हुनेछन् । विश्वविद्यालयका उपकुलपति प्राडा विनोदप्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल आयोजना गरिने बताए ।
विभिन्न क्षेत्रका विज्ञलाई वक्ताका रूपमा आमन्त्रण गरिएको उनले जानकारी दिए । नेपालगञ्जलाई प्रविधिको केन्द्रको हबका रूपमा विकास गर्न सम्मेलनले सकारात्मक योगदान पुर्याउने अपेक्षा राखिएको उपकुलपति ढकालको भनाइ छ ।
विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक रेगबहादुर भण्डारीले समुदाय र प्राविधिक विश्वविद्यालयबीचको सम्बन्ध सुदृढ बनाउन सम्मेलन उपयोगी हुने बताए ।
सम्मेलनका संयोजक चतुर्भुज भट्टका अनुसार वक्ता, विषयविज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहने छ ।









