राप्ती सोनारीमा ६४ मेट्रिक टन क्षमताको आधुनिक शीत भण्डार अन्तिम चरणमा, कृषक उत्साहित

  • नमस्ते कर्णाली

  • बाँके ,२३ जेठ ।
    राप्ती सोनारी गाउँपालिका–४ मा निर्माणाधीन ६४ मेट्रिक टन क्षमताको आधुनिक शीत भण्डार (कोल्ड स्टोर) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। स्थानीय कृषकहरूको कृषि उपज सुरक्षित भण्डारण गर्दै कृषि क्षेत्रको व्यावसायिकीकरण र उत्पादनको उचित व्यवस्थापन गर्ने उद्देश्यले निर्माण भइरहेको उक्त परियोजनाको गाउँपालिका नेतृत्वले स्थलगत अनुगमन गरेको छ।
    गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह चौधरी, वडा नं. ४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता, वडा नं. ८ का वडाध्यक्षसहितको टोलीले निर्माणस्थल पुगेर परियोजनाको प्रगति, गुणस्तर तथा बाँकी कामको अवस्थाबारे जानकारी लिएको हो।
    अनुगमनका क्रममा गाउँपालिका नेतृत्वले निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्न तथा गुणस्तरमा कुनै प्रकारको सम्झौता नगर्न निर्माण पक्षलाई निर्देशन दिएको जनाएको छ। साथै हालसम्मको प्रगतिको समीक्षा गर्दै बाँकी कामलाई तीव्र गतिमा अघि बढाउन आग्रह गरिएको छ।
    गाउँपालिकाका अनुसार शीत भण्डार सञ्चालनमा आएपछि स्थानीय कृषकहरूले आलु, तरकारी तथा अन्य कृषि उपज लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्न सक्नेछन्। यसबाट उत्पादनमा हुने क्षति कम हुनुका साथै बजार मूल्य अनुकूल भएको समयमा बिक्री गरेर किसानले बढी लाभ लिन सक्ने अपेक्षा गरिएको छ।
    स्थानीय कृषक रामबहादुर थारूले शीत भण्डार निर्माणले किसानलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे।
    “अहिलेसम्म उत्पादन भएको आलु र तरकारी तत्काल बिक्री गर्नुपर्ने बाध्यता थियो। मूल्य कम हुँदा पनि बेच्नुपर्थ्यो। अब शीत भण्डार सञ्चालनमा आएपछि उपज सुरक्षित राखेर उचित मूल्य पाएको बेला बिक्री गर्न सकिने भएकाले किसानलाई धेरै फाइदा हुनेछ,” उनले भने।
    त्यस्तै अर्का कृषक माया चौधरीले कृषि उत्पादनको संरक्षण र आय वृद्धि दुवैका लागि शीत भण्डार महत्वपूर्ण हुने बताइन्।
    “उत्पादन राम्रो भए पनि भण्डारणको अभावले धेरै किसान समस्यामा थिए। यो शीत भण्डार सञ्चालनमा आएपछि उत्पादन खेर जाने अवस्था कम हुनेछ र किसानको आम्दानी बढाउन सहयोग पुग्नेछ,” उनले भनिन्।
    विशेषगरी आलु उत्पादक किसानका लागि यो पूर्वाधार निकै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। शीत भण्डारको अभावमा उत्पादन तत्काल बजारमा पठाउनुपर्ने बाध्यता हट्ने र किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न सक्ने वातावरण बन्ने गाउँपालिकाको विश्वास छ।
    गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले कृषि क्षेत्रलाई स्थानीय विकासको प्रमुख आधारका रूपमा लिइएको बताउँदै किसानमैत्री पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए। उनका अनुसार शीत भण्डार निर्माण सम्पन्न भएपछि राप्ती सोनारीका कृषकहरूको उत्पादन व्यवस्थापन, बजार पहुँच विस्तार तथा आम्दानी वृद्धिमा सकारात्मक प्रभाव पर्नेछ।
    स्थानीय सरकारको कृषि आधुनिकीकरण अभियानअन्तर्गत निर्माण भइरहेको उक्त शीत भण्डार सञ्चालनमा आएपछि राप्ती सोनारी क्षेत्रका किसानले उत्पादनको संरक्षण, बजारीकरण तथा आयआर्जनमा दीर्घकालीन लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ।

  • २३ जेष्ठ २०८३, शनिबार ०७:५१ प्रकाशित

  • Nabintech