सुर्खेत, २४ जेठ ।
चपाई/चापागाईं एकता समाज नेपालको प्रथम साधारण सभा तथा कार्यसमिति गठन कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न गरेको छ । समाजका सदस्य तथा शुभेच्छुकहरूको सहभागितामा सम्पन्न कार्यक्रममा संस्थागत एकता, सामाजिक सहकार्य तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो ।
सभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिको अध्यक्षमा उमालाल चपाईं चयन भएका छन् । उपाध्यक्षमा दुर्गा चपाईं, सचिवमा डिल्लीराम चपाईं, कोषाध्यक्षमा यादवप्रसाद चपाईं तथा सहसचिवमा गणेशप्रसाद चपाईं चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा शान्ता पौडेल चपाई, हरिमाया चपाई, निलकण्ठ चपाई, उत्तम चपाई, रोशन चपाई र मोतिप्रसाद चपाई चयन भएका छन् । कार्यक्रममा बोल्दै सहभागीहरूले समाजले देशका विभिन्न स्थानमा रहेका चपाई/चापागाई समुदायबीच आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । समाजमार्फत सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिहरू सञ्चालन गर्दै समुदायका आवश्यकता र हितका पक्षमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष उमालाल चपाईले समाजप्रति व्यक्त गरिएको विश्वासका लागि सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै सबैलाई समेटेर संस्थालाई थप सक्रिय, प्रभावकारी र उदाहरणीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।









