बर्दिया ,४ असार ।
गेरुवा गाउँपालिकाको सहयोग तथा बास नेपालको सहजीकरणमा सञ्चालन गरिएको ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न भएको छ। लक्षित वर्ग उत्थान कार्यक्रमअन्तर्गत प्रशासन सेवातर्फ चौथो र पाँचौँ तह वा सो सरह पदका लागि तयारी गरिरहेका स्थानीय युवालाई लक्षित गरी सञ्चालन गरिएको कक्षाको समापन गरिएको हो।
समापन कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे। उनले स्थानीय युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न तथा सरकारी सेवामा प्रवेशका लागि सक्षम बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए। अध्यक्ष केसीले लोकसेवा तयारी कक्षाले युवाको आत्मविश्वास बढाउनुका साथै प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्थानीय सरकारद्वारा गाउँमै लोकसेवा तयारी कक्षा सञ्चालन गरिएकोप्रति धन्यवाद व्यक्त गर्दै यसले युवालाई ठूलो अवसर प्रदान गरेको बताए। विगतमा यस्ता कक्षा लिन देशका विभिन्न शहर धाउनुपर्ने बाध्यता रहेकामा अब आफ्नै गाउँठाउँमा अध्ययन गर्न पाउनु सकारात्मक उपलब्धि भएको उनको भनाइ थियो। उनले प्राप्त अवसरको अधिकतम सदुपयोग गरी सरकारी सेवामा प्रवेशका लागि निरन्तर मेहनत गर्न सहभागीलाई सुझाव दिए।
सहभागी विद्यार्थीका तर्फबाट प्रतिक्रिया व्यक्त गर्दै सनिश थारुले आफ्नै गाउँमा लोकसेवा तयारी कक्षा सञ्चालन गरिदिएकोमा आयोजकप्रति आभार व्यक्त गरे। तालिमबाट लोकसेवा परीक्षाका लागि आवश्यक महत्वपूर्ण जानकारी, अध्ययन विधि र उपयोगी टिप्स प्राप्त भएको बताउँदै उनले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका युवालाई थप उत्साहित बनाउने धारणा राखे।
समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र तथा लोकसेवा तयारीसम्बन्धी पुस्तकहरू वितरण गरिएको थियो। प्रमाणपत्र तथा पुस्तक गाउँपालिका अध्यक्ष जमानसिंह केसी र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले हस्तान्तरण गरेका थिए।
अध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, सामाजिक विकास संयोजक तथा वडा नं. ३ का अध्यक्ष निर्मलकुमार चौधरी, बास नेपालकी केन्द्रीय महासचिव कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह, गाउँपालिकाका लेखा अधिकृत सुदीप सिग्देललगायतको उपस्थिति रहेको थियो।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन गेरुवा गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रमा पुन मगरले गरेकी थिइन्। कार्यक्रमले स्थानीय तहबाट युवाको क्षमता अभिवृद्धि तथा सरकारी सेवामा पहुँच विस्तार गर्ने प्रयासलाई थप प्रभावकारी बनाएको सहभागीहरूले बताएका छन्।









