सुर्खेत, ८ असार ।
सम्पत्ति शुद्धिकरणको मुद्दामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । पौडेललाई सोमबार साँझ सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३, स्थित होटल शुभबाट पक्राउ गरहेको हो । आइतबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत आएका थिए । कर्णालीका प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा चलिरहेको सोही कार्यक्रम स्थलबाट प्रहरीले पौडेललाई पक्राउ गरेको हो । पौडेलसँगै कार्यदलका संयोजक उपाध्यक्ष रामबहादुर थापा प्रमुख अतिथि थिए । यस्तै, कार्यदलका सदस्यहरु उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेल पनि बैठकमा थिए । पौडेललाई पक्राउ गर्ने समयसम्म कर्णालीका १० मध्ये आठ जिल्लाका पदाधिकारी र केन्द्रीय सदस्यले निर्वाचन समिक्षा र पार्टी पुनर्गठनका विषयमा बोलेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार सुर्खेत र जाजरकोटको बोल्ने पालो नआउँदै पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलको कमाण्डमा खटिएको १० जनाको विशेष प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई काठमाडौं पठाउन नेपालगन्ज लगिएको छ । सम्पत्ति शुद्धीकरण विभागले पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई पक्राउ गर्नुअघि उनको निवासमा छापा मारेको थियो । विभागले पौडेललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएको थियो । विभागले पौडेललाई पक्राउ गरेर उपस्थित गराउन सुर्खेत प्रहरीलाई आजै पत्र पठाएको थियो । उनलाई प्रहरीले काम छ भन्दै कार्यक्रमस्थलबाट बाहिर निकालेर पक्राउ गरेको थियो । सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दियो । पौडेल वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले पक्राउ गरेका एमालेका दोस्रो बरियताका नेता हुन् । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले २३ भदौको जेन–जी आन्दोलनमा १९ जनाको ज्यान जानेगरी भएको घटनामा संलग्न रहेको आरोपमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई पक्राउ गरेको थियो ।










