सुर्खेत, ८ असार ।
एक्सट्रिम तेस्रो काँक्रेविहार हाफ म्याराथनको उपाधि जुम्लाका राजन रोकायले जितेका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर, सुर्खेतको आयोजनामा प्रत्येक वर्ष ओलम्पिक डेका अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज भएको २१ किलोमिटर दौड रोकायले १ घण्टा ९ मिनेट ३१ सकेन्डमा पूरा गरी उपाधि हात पारेका हुन् । रोकायले १ लाख ५० हजार पुरस्कार प्राप्त गरेका छन् । एक्सट्रिम इनर्जी ड्रिङ्स टाइटल स्पोन्सर रहेको प्रतियोगितामा कालीकोटका विनोद रोकाय दोस्रो र विभागीय टोली एपीएफका गोपिचन्द्र पार्की तेस्रो भए ।
यस्तै, महिलातर्फको १० किलोमिटर दौडको उपाधि धादिङकी सन्तोषी श्रेष्ठले हात पारिन् । उनले निर्धारित दूरी ३६ मिनेटमा पूरा गरिन् । उक्त दौडमा जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र बाजुराकी सिर्जना पाण्डे तेस्रो भइन् । महिलातर्फको ५ किलोमिटर दौडको उपाधि सुर्खेतकी कृष्णा रानाले हात पारिन् । उनले निर्धारित दूरी २० मिनेटमा पूरा गरिन् । यस्तै, पुरुषतर्फ ५ किलोमिटर दौडमा कालीकोटका अनिल शाही प्रथम भए । विजेता खेलाडीलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ट्रफी, मेडल, प्रमाणपत्र र पुरस्कार राशीले सम्मान गरेकी थिइन् । ‘दौडिन्छ कर्णाली’ नारालाई मूर्तरूप दिन कर्णाली खेलकुद विकास परिषद्को अनुरोधमा विगत दुई वर्षदेखि मिड वेस्टर्न फिटनेस सेन्टरले प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको जनाइएको छ ।










