सुर्खेत, ८ असार ।
मुगुको रारा (ताल्चा) विमानस्थल कार्यालय भवन आजसम्म काठको टहरामा सञ्चालन हुँदै आएको छ । कार्यालय भनव मात्र होइन, सुरक्षा व्यवस्था तथा यात्रु प्रतीक्षालयमा समेत आवश्यक सुविधा नहुँदा यात्रुले विभिन्न सास्ती खेप्नुपरेको छायाँनाथ रारा नगरपालिका–११ का फुलमाया कुमाइले बताए ।
विसं २०६० वैशाख ३ गते परीक्षण उडान गरिए पनि लामो समयसम्म व्यवस्थित टर्मिनल भवन र कन्ट्रोल टावर सञ्चालनमा आउन सकेको छैन । वि.सं. २०७२ सालमा ५७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको थियो । त्यसपछि विमानस्थललाई थप व्यवस्थित बनाउने लक्ष्यसहित नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा करिब रु नौ करोड विनियोजन गरी दुई वर्षभित्र टर्मिनल भवन निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर सम्झौता भएको सात वर्ष बितिसक्दा पनि भवन पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
विमानस्थल प्रमुख नवलकिशोर चौहानले टर्मिनल भवन पूर्ण सञ्चालनमा नआउँदा जोखिम मोलेर सेवा दिनुपरेको बताउँछन । विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा आवश्यक सुरक्षा पूर्वाधारको अभावले थप चुनौती सिर्जना गरेको छ । पर्यटकीय गन्तव्यको प्रमुख क्षेत्र रारामा पूर्वाधार निर्माणको काम छिटो सम्पन्न भइ तयार भएको संरचना यथाशक्य छिटो सञ्चालनमा ल्याइनुपर्ने सरोकारवालाको सुझाव छ ।










