पूर्णखोप सुनिश्चितता घोषणा : नरैनापुर बालस्वास्थ्य सुरक्षामा एक कदम अगाडि

  • नमस्ते कर्णाली

  • बाँके ,९ असार ।
    बाँकेको नरैनापुर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पालिकाभित्रका सबै लक्षित बालबालिकालाई आवश्यक खोपको पहुँचमा ल्याएपछि औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
    पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा निर्देशिकाअनुसार आवश्यक प्रक्रिया पूरा गरी गाउँपालिकाका सबै छ वटै वडामा घरदैलो सर्वेक्षण सञ्चालन गरिएको थियो। सर्वेक्षणका क्रममा १६ देखि २३ महिनासम्मका ९०२ जना बालबालिका पहिचान भएका थिए। तीमध्ये ६७६ जनाले नियमित खोप प्राप्त गरिसकेका थिए भने छुट भएका २२६ जना बालबालिकालाई समेत खोप सेवाको पहुँचमा ल्याइएपछि गाउँपालिकाले पूर्णखोप सुनिश्चितताको मापदण्ड पूरा गरेको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिनुभयो।
    घोषणा समारोहमा जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्र चौधरीले गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहलाई प्रमाणीकरण पत्र हस्तान्तरण गर्नुभयो। त्यसपछि अध्यक्ष शाहले गाउँपालिकाका छ वटै वडाका वडा अध्यक्ष तथा स्वास्थ्य संस्था प्रमुखहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो। साथै पूर्णखोप अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने १२ जना खोप कार्यकर्तालाई सम्मानसमेत गरिएको थियो।
    कार्यक्रमका अवसरमा स्वास्थ्य सेवाबाट अवकाश प्राप्त वरिष्ठ अनमी (सिअनमी) दुर्गा शर्मा तथा कार्यालय सहयोगी सलिम खाँ र शिवको सम्मानपूर्वक विदाइ गरिएको थियो। करिब २९ वर्षसम्म स्वास्थ्य सेवामा समर्पित रहनुभएकी दुर्गा शर्माले आफ्नो सेवायात्राका अनुभव सुनाउँदै भावुक मन्तव्य व्यक्त गर्नुभएको थियो।
    गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पूर्णखोप सुनिश्चितता घोषणा बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति गाउँपालिकाको दृढ प्रतिबद्धताको प्रतीक भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण निर्माण गरिने उल्लेख गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले प्राप्त उपलब्धिलाई दिगो बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा समुदायबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
    कार्यक्रममा स्वास्थ्य शाखाका प्रतिनिधि विवेक पौडेलले पूर्णखोप अभियानसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
    बाँके जिल्लाका आठ स्थानीय तहमध्ये नरैनापुरसहित सात वटा स्थानीय तह पूर्णखोप सुनिश्चितता पालिका घोषणा भइसकेका छन्। यस उपलब्धिले जिल्लाभर बालबालिकामा नियमित खोप सेवाको पहुँच विस्तार हुनुका साथै खोपबाट रोकथाम गर्न सकिने रोगहरूको नियन्त्रणमा महत्वपूर्ण प्रगति भएको संकेत गरेको छ। स्वास्थ्य क्षेत्रमा प्राप्त यस सफलताले बालबालिकाको उज्ज्वल भविष्य र स्वस्थ समाज निर्माणतर्फ सकारात्मक आधार तयार गरेको सरोकारवालाहरूले बताएका छन्।

  • ९ असार २०८३, मंगलवार ०६:२१ प्रकाशित

  • Nabintech