मुगु- मुगुको सोरु गाउँपालिका को १८औँ गाउँसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड ६६ लाख ५८ हजार ३०१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल रु. ५०,६६,५८,३०१ को बजेट सार्वजनिक गरेको हो। प्रस्तुत बजेटमध्ये चालुतर्फ रु. ३१ करोड १२ लाख ३० हजार ३०१ तथा पुँजीगततर्फ रु. १९ करोड ५४ लाख २८ हजार विनियोजन गरिएको छ।

गाउँसभामा प्रस्तुत बजेटले गाउँपालिकाको समग्र विकास, सेवा प्रवाह सुधार, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, रोजगार तथा सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको जनाइएको छ।
गाउँपालिकाले विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर उकास्ने, सुशासन प्रवर्द्धन गर्ने तथा स्थानीय आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको जनाएको छ।
गाउँसभा अधिवेशनमा प्रस्तुत बजेटले ग्रामीण सडक, स्वास्थ्य संस्था सुदृढीकरण, शैक्षिक सुधार, कृषि उत्पादन वृद्धि तथा विपन्न वर्ग लक्षित कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको बताइएको छ।
स्थानीय जनप्रतिनिधिहरूले आगामी आर्थिक वर्षको बजेटले गाउँपालिकाको दिगो विकास, आर्थिक समृद्धि तथा नागरिकमैत्री सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।









