राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम सम्पन्न, स्थानीयको थप ४४० मिटर विस्तारको माग

  • नमस्ते कर्णाली

  • बाँके ,१४ असार ।

    बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकालाई जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय, नेपालगन्जका अनुसार पुलको भौतिक तथा वित्तीय दुवै प्रगति हालसम्म करिब ७५ प्रतिशत पुगेको छ।
    आयोजना प्रमुख लीलाबहादुर भण्डारीले स्वीकृत डिजाइनअनुसार पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको जानकारी दिँदै हाल ७०० मिटर लामो पुल निर्माण भइरहेको बताए। उनका अनुसार स्थानीयवासीले पुललाई थप ४४० मिटर विस्तार गरी कुल एक हजार १४० मिटर बनाउन माग गरेका छन्। सो माग सम्बन्धी पत्र निर्देशनालयमा पठाइसकिएको उनले जानकारी दिए।
    राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेलले थप ४४० मिटर पुल निर्माण भए यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले कृषि उपजको बजारीकरण, आवागमनको सहजता तथा बाढीजन्य जोखिम न्यूनीकरणका लागि पुल विस्तार आवश्यक रहेको बताए।
    उनका अनुसार विसं २०७४ सालको बाढीले खला, टेपरी, ढलैयालगायत क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको थियो। नदीको दुवैतर्फ तटबन्ध निर्माण भइरहेकाले पुल पनि सोहीअनुसार विस्तार गरिनुपर्ने उनको भनाइ छ। “यहाँको वास्तविक भूगोल र अवस्थालाई आधार बनाएर योजना कार्यान्वयन हुनुपर्छ,” उनले भने।
    डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले पनि थप संरचना निर्माण नगरे हाल निर्माण भइरहेको पुलको उद्देश्य नै कमजोर हुने बताए। उनका अनुसार पुल विस्तार नभए बालापुर, कम्दी र सिधनियाघाट क्षेत्र डुबानको जोखिममा पर्ने भएकाले जनताको मागअनुसार एक हजार १४० मिटर लामो पुल निर्माण गर्नुपर्ने आवश्यकता छ।
    लुम्बिनी प्रदेशसभाकी पूर्वमन्त्री कृष्णा केसीले स्थानीयको माग सम्बोधन गर्दै पुल निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरिन्। उनले हुलाकी राजमार्ग पछिल्लो समय नेपालगन्जबाट बुटवल हुँदै पूर्वी नेपाल जाने वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेकाले पर्याप्त लम्बाइको पुल निर्माण आवश्यक रहेको बताइन्। हाल रहेको करिब ३५० मिटर लामो पुल साँघुरो भएकाले सवारीसाधनले पालो कुरेर वारपार गर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरिन्।
    स्थानीयवासीले निर्माणाधीन पुल अधुरो नछाड्न आग्रह गर्दै बाँकी क्षेत्रमा बाँध निर्माणको सट्टा पुल नै विस्तार गर्नुपर्ने माग दोहोर्‍याएका छन्।
    राप्तीसोनारी–६ का स्थानीय प्रमोदकुमार सोनकरले भने, “हामीलाई बाँध होइन, पुल चाहिएको हो। हाम्रो लालपुर्जा भएको जमिनमा राप्ती नदी बगेको छ। बाँकी क्षेत्रमा बाँध बनाएपछि हाम्रो जीविकोपार्जन झन् कठिन हुन्छ।”
    आयोजना प्रमुख भण्डारीले स्थानीयको माग सम्बन्धित निकायसम्म पुर्‍याइसकिएको जानकारी दिँदै ठेक्का सम्झौताअनुसार निर्धारित समयमै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको बताए। उनले प्राविधिक हिसाबले स्वीकृत डिजाइनमा कुनै समस्या नरहेको पनि स्पष्ट पारे।
    आयोजना कार्यालयका अनुसार यस योजनाअन्तर्गत ७०० मिटर लामो पुल, एक हजार ४८० मिटर एप्रोच सडक तथा चार किलोमिटर नदी नियन्त्रणसम्बन्धी संरचना निर्माण भइरहेको छ। करिब १ अर्ब १९ करोड रुपैयाँ लागत रहेको उक्त आयोजना २०८४ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

  • १४ असार २०८३, आईतवार ०९:४३ प्रकाशित

  • Nabintech