सोरुका ३९ विद्यालयमा शिक्षा सुधारदेखि अपाङ्गता समावेशीकरणसम्म: जि.एस.एस.–यु.एम.एन.को वार्षिक १ करोडको लगानी

  • सनत हमाल

  • मुगु – ग्रामीण सामुदायिक संस्था (जि.एस.एस.) मुगु र युनाइटेड मिसन टु नेपाल (यु.एम.एन.) को साझेदारीमा सोरु गाउँपालिकाका ११ वटै वडामा शिक्षा, अपाङ्गता समावेशीकरण तथा सामुदायिक विकासका विभिन्न कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन्।

    संस्थाले आधारभूत तहको शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले प्रारम्भिक बाल विकास (ECD) देखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकाका लागि ३९ वटा विद्यालयमा कक्षाकोठा बसाइ व्यवस्थापन सामग्री वितरण गरेको छ। विद्यालयहरूलाई कार्पेट, कुशन, पी–फर्म, भुइँ टेबुल तथा स्थानीय स्रोतबाट निर्मित फेरुवा उपलब्ध गराइएको छ। कक्षा ६ देखि माथिका विद्यार्थीका लागि फलामे बेन्च–टेबलसमेत सहयोग गरिएको छ।

    बालमैत्री तथा क्रियाकलापमा आधारित शिक्षण–सिकाइलाई प्रभावकारी बनाउन शिक्षकहरूलाई शिक्षण सामग्री निर्माण तथा प्रयोगसम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ। विद्यालयको सुशासन सुदृढ बनाउन विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघका पदाधिकारीलाई पनि क्षमता विकास तालिम सञ्चालन गरिएको संस्थाले जनाएको छ।

    अपाङ्गता समावेशीकरण कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारलाई अधिकारसम्बन्धी तालिम प्रदान गरिएको छ। आर्थिक सशक्तीकरणका लागि ६८ जनालाई खुद्रा पसल, तरकारी खेती, खरायो पालन तथा बाख्रापालन व्यवसाय सञ्चालन गर्न आवश्यक सहयोग गरिएको छ। साथै १८ वर्षमुनिका १ सय ७७ जना अपाङ्गता भएका बालबालिकाको उपचारमा समेत सहयोग गरिएको छ।

    विद्यालयमा सुरक्षित र स्वस्थ सिकाइ वातावरण निर्माण गर्न खानेपानी, शौचालय तथा घेरबार निर्माणलाई प्राथमिकता दिइएको छ। चालु अवधिमा ११ वटा विद्यालयमा शौचालय, ९ वटा विद्यालयमा खानेपानी सुविधा तथा ५ वटा विद्यालयमा घेरबार निर्माण सम्पन्न गरिएको छ।

    स्थानीय स्रोत–साधनको उपयोग र दिगोपनालाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष २५ वटा विद्यालयलाई करिब ७ लाख रुपैयाँ बराबरका स्थानीय फेरुवा उपलब्ध गराइएको छ, जसले कक्षाकोठा बसाइ व्यवस्थापनलाई थप सहज बनाएको छ।

    विद्यालय केन्द्रित पूर्वाधार तथा विकास कार्यक्रमहरू गाउँपालिकासँगको आर्थिक साझेदारीमा सञ्चालन हुँदै आएका छन्। यस वर्ष विद्यालय घेरबार निर्माणका लागि सोरु गाउँपालिकाले १६ लाख रुपैयाँ र जि.एस.एस. मुगुले १८ लाख रुपैयाँ लगानी गरेका छन्।

    जि.एस.एस. मुगुले सोरु गाउँपालिकामा शिक्षा, स्वास्थ्य, अपाङ्गता समावेशीकरण, जीविकोपार्जन र सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्न वार्षिक करिब १ करोड रुपैयाँ खर्च गर्दै आएको जनाएको छ। संस्थाको लगानीले दुर्गम क्षेत्रका विद्यालयको शैक्षिक वातावरण सुधार हुनुका साथै अपाङ्गता भएका व्यक्तिको सामाजिक तथा आर्थिक सशक्तीकरणमा समेत उल्लेखनीय योगदान पुगेको स्थानीयको भनाइ छ।

  • १९ असार २०८३, शुक्रबार ०९:५६ प्रकाशित

  • Nabintech