बाँके ,२६ असार ।
भारतसँग सीमा जोडिएको बाँकेको नरैनापुर गाउँपालिकामा पछिल्ला वर्षहरूमा नेपाली रुपैयाँको प्रयोग उल्लेखनीय रूपमा बढेको भए पनि स्थानीय बजारमा वस्तु तथा सेवाको मूल्य निर्धारण गर्ने पुरानो चलन भने अझै भारतीय रुपैयाँ (भारु)मै कायम छ। दशकौँदेखि चल्दै आएको यस अभ्यासका कारण पहिलो पटक नरैनापुर पुग्ने सेवाग्राही तथा यात्रुहरू प्रायः अन्योलमा पर्ने गरेका छन्।
नरैनापुर बजारमा खाजा खान, मोटरसाइकल मर्मत गर्न वा दैनिक उपभोगका सामग्री खरिद गर्दा व्यापारीहरूले मूल्य भारुमा बताउने गर्छन्। नेपाली रुपैयाँ सहज रूपमा स्वीकार गरिए पनि त्यसलाई तत्काल प्रचलित विनिमय दरअनुसार भारुमा रूपान्तरण गरेर मात्र रकम लिने अभ्यास अझै जारी छ।
मोटरसाइकल मर्मत व्यवसायी मोहम्मद सरिफका अनुसार अहिले नेपाली रुपैयाँ सहज रूपमा चल्ने भए पनि कारोबारको हिसाब भने भारुमै राख्ने चलन कायमै छ। “नेपाली रुपैयाँ लिन्छौँ, तर हिसाब भारुमै हुन्छ। नेपाली रुपैयाँमै मूल्य भन्यो भने ग्राहकलाई महँगो भएको जस्तो लाग्छ,” उनले भने।
खाजा पसल सञ्चालक राजेश श्रीवास्तवले पनि स्थानीय बजारमा पुरानै प्रणाली कायम रहेको बताए। “नेपाली रुपैयाँ स्वीकार गर्छौँ, तर पहिले भारुमा हिसाब गर्छौँ। यहाँका अधिकांश ग्राहक यही प्रणालीमा अभ्यस्त छन्,” उनले बताए।
यही कारण नरैनापुर पहिलो पटक पुग्ने व्यक्तिहरू प्रायः झुक्किने गरेका छन्। कामको सिलसिलामा नरैनापुर पुगेका नेपालगञ्जका अभिषेक डाँगीले खाजा खाइसकेपछि पसलेले भनेको रकम नेपाली रुपैयाँ हो भन्ने ठाने। पछि त्यो रकम भारतीय रुपैयाँमा रहेको थाहा पाएपछि उनी आश्चर्यमा परे।
“नेपालकै भूभाग भएकाले नेपाली रुपैयाँमै मूल्य तोकिएको होला भन्ने लागेको थियो। नेपाली रुपैयाँ चल्ने रहेछ, तर मूल्य निर्धारण भने भारुमै हुने रहेछ,” उनले अनुभव सुनाए।
नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रका अनुसार अहिलेको अवस्था विगतको तुलनामा निकै परिवर्तन भएको छ। “पहिले त नेपाली रुपैयाँ नै चल्दैनथ्यो। अहिले नेपाली रुपैयाँ सहज रूपमा चल्न थालेको छ, तर मूल्य निर्धारण गर्ने पुरानो बानी भने अझै हट्न सकेको छैन,” उनले भने।
उनका अनुसार नेपालगञ्जसँग प्रत्यक्ष सडक सम्पर्क स्थापित भएपछि स्थानीयको भारतीय बजारमाथिको निर्भरता उल्लेखनीय रूपमा घटेको छ। “पहिले दैनिक उपभोगका सामग्रीदेखि अन्य आवश्यक कामका लागि भारत जानुपर्ने अवस्था थियो। अहिले सडक सञ्जाल विस्तार भएपछि नेपालगञ्जसँगको पहुँच सहज बनेको छ,” उनले बताए।
नरैनापुरको आर्थिक व्यवहार केवल मुद्रा प्रयोगसँग मात्र सम्बन्धित विषय होइन, यो राज्यसँगको ऐतिहासिक पहुँच, विकास र सीमावर्ती जनजीवनसँग पनि गहिरो रूपमा जोडिएको छ। केही वर्षअघिसम्म नेपालकै बाटो प्रयोग गरेर नरैनापुर पुग्न सातदेखि आठ घण्टासम्म लाग्थ्यो। कतिपय अवस्थामा भारतीय भूभाग हुँदै आवतजावत गर्नु स्थानीयको बाध्यता थियो। सडकको अभाव, सरकारी सेवाको कमजोर पहुँच र भारतीय बजारमाथिको अत्यधिक निर्भरताका कारण नेपाली रुपैयाँभन्दा भारतीय रुपैयाँ नै दैनिक कारोबारको मुख्य आधार बनेको थियो।
पहिलो स्थानीय तह निर्वाचनपछि भने नरैनापुरको विकासले नयाँ गति लिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह बताउँछन्। उनका अनुसार निर्वाचनका बेला गाउँ–गाउँ पुग्ने सडकसमेत नहुँदा ट्र्याक्टर चढेर मत माग्नुपर्ने अवस्था थियो।
“त्यो बेला प्रचारप्रसार गर्न निकै कठिन थियो। बाटो थिएन, विकासको अवस्था अत्यन्त कमजोर थियो। निर्वाचित भएपछि नरैनापुरलाई राज्यको मूलधारसँग जोड्ने विकासलाई पहिलो प्राथमिकता बनायौँ,” अध्यक्ष शाहले भने।
उनका अनुसार सडक, पुल, सरकारी सेवा तथा नेपालगञ्जसँगको प्रत्यक्ष सम्पर्क विस्तार भएपछि स्थानीयवासीमा राज्यप्रतिको अपनत्व र ‘हामी पनि नेपाली हौँ’ भन्ने आत्मविश्वास बलियो बन्दै गएको छ। नेपाली रुपैयाँको प्रयोग बढ्नु पनि त्यही परिवर्तनको संकेत भएको उनले बताए।
यद्यपि सीमावर्ती क्षेत्रको दशकौँ पुरानो आर्थिक अभ्यास एकैपटक परिवर्तन हुन सकेको छैन। स्थानीय बजारमा मूल्य निर्धारण अझै भारुमै हुने अवस्था राज्यका लागि पनि नीतिगत चासोको विषय बनेको सरोकारवालाहरूको भनाइ छ।
उनीहरूका अनुसार सीमावर्ती क्षेत्रका नागरिकलाई राष्ट्रिय अर्थतन्त्रसँग अझ प्रभावकारी रूपमा जोड्न नेपाली रुपैयाँलाई मुख्य कारोबारको माध्यमका रूपमा स्थापित गर्न, वित्तीय साक्षरता बढाउन, बैंकिङ सेवा तथा डिजिटल भुक्तानी प्रणालीको पहुँच विस्तार गर्न विशेष पहल आवश्यक छ। विकासका भौतिक पूर्वाधारसँगै आर्थिक व्यवहार पनि राष्ट्रिय प्रणालीमा पूर्ण रूपमा एकीकृत हुन सके मात्र सीमावर्ती क्षेत्रको समावेशी विकास र राष्ट्रिय एकता थप सुदृढ हुने उनीहरूको निष्कर्ष छ।










