बाँके ,२४ साउन ।
देशभर क्यान्सर उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन र सिस प्लाटिन औषधिको अभाव देखिन थालेपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत बिरामी प्रभावित हुने चिन्ता बढेको छ। किमोथेरापीमा नियमित प्रयोग हुने यी औषधि पर्याप्त मात्रामा उपलब्ध नहुँदा उपचारको निरन्तरतामै असर पर्ने जोखिम बढेपछि बिरामी र उनीहरूका आफन्त चिन्तित बनेका हुन्।
अस्पतालमा दैनिक करिब तीन सय बिरामी उपचारका लागि पुग्ने गरेका छन्। बाँकेसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट रेफर भएर आउने क्यान्सर बिरामीको सङ्ख्या पनि बढ्दो छ। विशेषगरी पाठेघर, स्तन, फोक्सो, मिर्गौला, मूत्राशय तथा पुरुष प्रजनन अङ्गसम्बन्धी क्यान्सरका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्।
तर पछिल्लो समय क्यान्सर उपचारका लागि अत्यावश्यक कार्बोप्लाटिन र सिस प्लाटिनको आपूर्ति नियमित नहुँदा बिरामी थप समस्यामा परेका छन्। आवश्यक औषधि अस्पतालबाट सहज रूपमा उपलब्ध हुन नसकेपछि कतिपय बिरामीका आफन्तले बाहिरबाट, विशेषगरी भारतबाट समेत औषधि ल्याउनुपर्ने बाध्यता रहेको बताएका छन्।
औषधि बाहिरबाट खरिद गर्नुपर्दा उपचार खर्च थपिने मात्र होइन, औषधि समयमा नपाउँदा निर्धारित समयमा किमोथेरापी गर्न नसकिने चिन्ता पनि बिरामीमा बढेको छ।
उपचारका लागि अस्पताल पुगेका बाजुराका बिरामीका आफन्त मनोज थापा भन्छन्, “किमोथेरापीका लागि आवश्यक औषधि अस्पतालमै पाइन्छ भन्ने आशा थियो। तर औषधि अभाव भएपछि बाहिर खोज्नुपर्ने अवस्था आयो। भारतबाट समेत औषधि ल्याउनुपर्ने भएपछि खर्च र झन्झट दुवै बढेको छ। समयमा औषधि नपाउँदा उपचार नै रोकिने हो कि भन्ने चिन्ता लागेको छ।”
अस्पतालका अनुसार कार्बोप्लाटिन र सिस प्लाटिन क्यान्सर उपचारमा नियमित रूपमा प्रयोग हुने अत्यावश्यक औषधि हुन्। करिब तिन महिनादेखि यी औषधिको आपूर्तिमा समस्या देखिएको अस्पतालले जनाएको छ। बीचमा केही मात्रामा औषधि प्राप्त भए पनि बिरामीको मागअनुसार पर्याप्त हुन नसकेको अस्पतालको भनाइ छ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेका सूचना अधिकारी डा. प्रविनकुमार गुप्ताका अनुसार औषधि आपूर्तिमा देखिएको समस्याका कारण अस्पतालमा मौज्दात पर्याप्त हुन सकेको छैन।
डा. गुप्ता भन्छन्, “कार्बोप्लाटिन र सिस प्लाटिन क्यान्सर उपचारमा अत्यावश्यक औषधि हुन्। पछिल्लो करिब दुई महिनादेखि यसको आपूर्तिमा समस्या देखिएको छ। बीचमा केही परिमाणमा औषधि आए पनि बिरामीको मागअनुसार पर्याप्त हुन सकेको छैन। आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।”
क्यान्सरजस्तो जटिल रोगको उपचार लामो र खर्चिलो हुने भएकाले औषधि अभावले बिरामीलाई थप आर्थिक तथा मानसिक भार थपिने गरेको छ। नियमित किमोथेरापीको तालिका प्रभावित हुँदा उपचारको प्रभावकारितामै असर पर्न सक्ने भन्दै बिरामीका आफन्तले सरकार र सम्बन्धित निकायले औषधिको आपूर्ति तत्काल सहज बनाउनुपर्ने माग गरेका छन्।
अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी आर्थिक रूपमा कमजोर परिवारका समेत छन्। सरकारले विपन्न नागरिकका लागि उपचारमा सहायता उपलब्ध गराउँदै आए पनि अस्पतालमा आवश्यक औषधि नै उपलब्ध नहुँदा उपचार प्रक्रियामा समस्या देखिनु थप चुनौती बनेको छ।
लुम्बिनी प्रदेश सरकारले क्यान्सर बिरामीका लागि स्वास्थ्य बीमा, विपन्न नागरिक सहायता कार्यक्रम तथा प्रदेश सरकारमार्फत गरी कुल चार लाख रुपैयाँसम्मको उपचार सुविधा उपलब्ध गराउँदै आएको छ। उपचार खर्चमा सरकारी सहायता भए पनि आवश्यक औषधि समयमै उपलब्ध नहुँदा बिरामीले थप रकम खर्च गरेर बाहिरबाट औषधि किन्नुपर्ने अवस्था आएमा सरकारी सहयोगको प्रभावकारितामै प्रश्न उठ्ने अवस्था देखिएको छ।
क्यान्सर उपचारमा औषधिको नियमितता अत्यन्त महत्वपूर्ण हुने भएकाले कार्बोप्लाटिन र सिस प्लाटिनको आपूर्ति तत्काल सहज बनाउनुपर्ने माग बढेको छ। बिरामीलाई उपचारका लागि अस्पतालसम्म ल्याएर औषधि अभावकै कारण उपचार प्रभावित हुने अवस्था आउन नदिन संघ, प्रदेश र अस्पताल प्रशासनबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ।
सम्बन्धित निकायले औषधिको अभाव, आपूर्ति प्रणालीमा देखिएको समस्या र समाधानका लागि भइरहेको पहल सार्वजनिक गर्दै बिरामीले निर्धारित समयमा आवश्यक औषधि पाउने सुनिश्चितता गर्नुपर्ने देखिन्छ। क्यान्सरजस्तो संवेदनशील रोगको उपचारमा औषधि अभाव केवल व्यवस्थापकीय समस्या नभई बिरामीको उपचार र जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको दीर्घकालीन समाधानतर्फ समेत ध्यान दिनुपर्ने आवश्यकता छ।
।









