मुगु – खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने तथा उपभोक्ताबाट मनपरी मूल्य असुल्ने गतिविधि नियन्त्रण गर्न मुगुमा बजार अनुगमन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मुगुको अगुवाइमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, पत्रकारलगायतको टोलीले आइतबार ग्यास बिक्री–वितरण गर्ने पसल तथा बजार क्षेत्रको अनुगमन गरेको हो।
गृह मन्त्रालयको परिपत्रअनुसार जिल्लामा ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाउने, ग्यास लुकाएर राख्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने तथा उपभोक्तालाई अनावश्यक दुःख दिने गतिविधि नियन्त्रण गर्न अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबिराज थपलियाले बताए।
उनका अनुसार हाल मुगुमा खाना पकाउने ग्यासको चरम अभाव वा कालोबजारी भएको अवस्था देखिएको छैन। तर, ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा उपभोक्तासँग तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गरेको पाइएमा तत्काल कारबाही गरिने उनले चेतावनी दिए।
“ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाएर राख्ने वा महँगो मूल्यमा बिक्री गर्ने गरेको पाइएमा तत्काल कारबाही हुन्छ,” प्रहरी नायब निरीक्षक थपलियाले भने।

यता, ग्यास बिक्री गर्दै आएका व्यवसायी प्रेम बुढाले पछिल्लो समय ग्राहकलाई ग्यास आपूर्तिमा केही असहजता देखिए पनि हाल त्यस्तो समस्या नरहेको बताए। उनका अनुसार जिल्लामा मागअनुसार ग्यास आपूर्ति भइरहेको छ।
अनुगमन टोलीले ग्यासको मौज्दात, बिक्री मूल्य तथा उपभोक्तालाई भइरहेको आपूर्तिको अवस्थाबारे जानकारी लिँदै व्यवसायीलाई तोकिएको मूल्यमा ग्यास बिक्री गर्न र कृत्रिम अभाव सिर्जना नगर्न निर्देशन दिएको छ।
प्रहरीले ग्यासको अभाव वा कालोबजारीसम्बन्धी कुनै गतिविधि देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन उपभोक्तालाई आग्रह गरेको छ।









