बाँके ,२५ साउन ।
डुडुवा गाउँपालिकाका स्वास्थ्यकर्मीहरूको कुपोषण पहिचान, उपचार तथा व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तीनदिने कुपोषणको एकीकृत व्यवस्थापन (Integrated Management of Acute Malnutrition–IMAM) तालिम सम्पन्न भएको छ।
Nutrition for Life (N4L) Project अन्तर्गत बाँके युनेस्को क्लब (BUC) को प्राविधिक सहयोग, Helen Keller International (HKI) Nepal को आर्थिक सहयोग तथा स्वास्थ्य कार्यालय, बाँकेको आयोजनामा तालिम दुई चरणमा सञ्चालन गरिएको हो।
पहिलो समूहको तालिम २०८३ साउन १९ देखि २१ गतेसम्म र दोस्रो समूहको तालिम साउन २२ देखि २४ गतेसम्म बाँकेको कारकाँदोस्थित होटल इन्द्रेणीमा सञ्चालन भएको थियो। तालिममा डुडुवा गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका ५९ जना स्वास्थ्यकर्मी सहभागी भएका थिए।
तालिमको मुख्य उद्देश्य स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा प्राविधिक क्षमता अभिवृद्धि गर्दै समुदाय र स्वास्थ्य संस्थास्तरमा कुपोषणको समयमै पहिचान, परीक्षण, उपचार, परामर्श, अभिलेखीकरण तथा प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउनु रहेको आयोजकले जनाएको छ।
तालिम उद्घाटन समारोहको अध्यक्षता स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले गर्नुभएको थियो भने कार्यालयकी पोषण फोकल पर्सन बसन्ती मल्लले तालिमको औपचारिक उद्घाटन गर्नुभएको थियो। उद्घाटनका क्रममा मल्लले कुपोषणको समस्या समाधानका लागि यसको अवस्था र कारणको गहिरो विश्लेषणसँगै तथ्यमा आधारित योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो।
तालिमका सत्रहरू अद्यावधिक IMAM निर्देशिका तथा प्रचलित मापदण्ड र प्रोटोकलअनुसार सञ्चालन गरिएको थियो। सहभागीहरूको व्यावहारिक सिकाइलाई प्राथमिकता दिँदै प्राविधिक प्रस्तुति, समूहगत छलफल, अनुभव आदानप्रदान, अभ्यास तथा प्रदर्शनात्मक विधि अपनाइएको थियो।
तालिममा ६ महिनाभन्दा कम उमेरका तथा ६ देखि ५९ महिनासम्मका बालबालिकामा कुपोषण व्यवस्थापन, OTC मार्फत उपचार, एन्थ्रोपोमेट्रिक मापन, ट्रायेज प्रक्रिया, Appetite Test, परामर्श, RUTF तथा Super Cereal Plus को प्रयोग र सेवन विधि, Therapeutic Food को व्यवस्थापन तथा आपूर्ति प्रणालीलगायत विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिइएको थियो।
स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले नेपालमा कुपोषणको वर्तमान अवस्था तथा बाँके जिल्लाको अवस्थाबारे जानकारी गराउँदै कुपोषण उपचारमा प्रयोग हुने Therapeutic Food को उचित प्रयोग, व्यवस्थापन र आपूर्ति प्रणालीबारे प्रशिक्षण दिनुभएको थियो।
तालिमका प्रमुख सत्रहरू HKI का Field Officer लीलबहादुर नेपाली र बाँके युनेस्को क्लबकी Program Coordinator दृष्टि शाहले सहजीकरण गर्नुभएको थियो। स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख पौडेल तथा पोषण फोकल पर्सन मल्लबाट समेत आवश्यक प्राविधिक सहयोग र मार्गदर्शन प्रदान गरिएको थियो।
तालिमले स्वास्थ्यकर्मीहरूको प्राविधिक क्षमता अभिवृद्धिसँगै कुपोषण व्यवस्थापनमा संलग्न सरोकारवालाबीच समन्वय, सहकार्य र साझा उत्तरदायित्वलाई समेत थप मजबुत बनाएको आयोजकको भनाइ छ। यसबाट डुडुवा गाउँपालिकाका विभिन्न वडा तथा समुदायमा कुपोषित बालबालिकाको समयमै पहिचान, उपचार, रेफरल, परामर्श तथा फलोअप थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
समापन समारोहमा स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यक्षेत्रमा व्यवहारिक रूपमा प्रयोग गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो। उहाँले समुदायमा कुपोषण न्यूनीकरण गर्दै अन्ततः यसको अन्त्य गर्ने साझा लक्ष्य प्राप्तिका लागि स्वास्थ्य कार्यालयबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तालिमको समग्र व्यवस्थापन तथा सहजीकरण Nutrition for Life Project का Program Coordinator दृष्टि शाह र MEAL Officer अनु चौधरीको समन्वयमा गरिएको थियो।
सक्षम स्वास्थ्यकर्मीमार्फत कुपोषणको समयमै पहिचान, उपचार र रोकथामलाई प्रभावकारी बनाउन सकिए बालबालिकाको स्वास्थ्यसँगै समग्र समुदायको स्वास्थ्य अवस्था सुधार गर्न सकिने अपेक्षा गरिएको छ।









