बर्दियामा गैंडा घट्दै, चोरीसिकार होइन बासस्थान संकट मुख्य चुनौती

  • नमस्ते कर्णाली

  • बर्दिया ,२७  साउन ।
    बर्दिया राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको संख्या घट्नुमा चोरीसिकारभन्दा बासस्थानको संकट प्रमुख कारण बन्दै गएको देखिएको छ। पछिल्लो पाँच वर्षमा सात वटा गैंडा मरेका छन् भने करिब २० वटा गैंडा सीमापारि भारतको कतरनियाघाट वन्यजन्तु आरक्षतर्फ पुगेको अनुमान गरिएको छ।
    गैंडाका लागि आवश्यक पानी, घाँसेमैदान र आहालको कमी तथा जैविक मार्गमा बढ्दो मानवीय गतिविधिले बर्दियामा गैंडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाहरू बताउँछन्।
    सन् २०२१ मा गरिएको गैंडा गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा गैंडा थिए। त्यसयता पाँच वर्षको अवधिमा सात वटा गैंडा मरेका छन्। तीमध्ये अधिकांशको मृत्यु आपसमा जुध्दा भएको निकुञ्जले जनाएको छ। अर्कोतर्फ, करिब २० वटा गैंडा भारततर्फ गएको अनुमान गरिएको छ। यसले बर्दियामा गैंडाको संख्या घट्दै गएको देखाएको छ।
    तर, बर्दियामा गैंडाको संख्या घट्नुको मुख्य कारण चोरीसिकार भने होइन। २०६४ वैशाखमा दुई वटा गैंडा चोरीसिकारबाट मारिएपछि पछिल्लो १९ वर्षयता बर्दियामा गैंडा चोरीसिकारको घटना भएको छैन। निकुञ्ज सुरक्षाका लागि खटिएको नेपाली सेना र चोरीसिकार नियन्त्रणमा मध्यवर्ती क्षेत्रका युवाको सक्रियताका कारण गैंडा चोरीसिकार नियन्त्रणमा आएको निकुञ्जको भनाइ छ।
    स्थानान्तरणबाट सुरु भएको गैंडाको बर्दिया यात्रा
    बर्दियामा गैंडा संरक्षणको इतिहास स्थानान्तरणसँग जोडिएको छ। सन् १९८६ देखि २००३ सम्म पटकपटक चितवन राष्ट्रिय निकुञ्जबाट बर्दियाको बबई उपत्यकामा ७० र कर्णाली तटीय क्षेत्रमा १३ गरी ८३ वटा गैंडा ल्याएर छाडिएको थियो।
    बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार स्थानान्तरण गरिएका ८३ गैंडामध्ये सशस्त्र द्वन्द्वका क्रममा चोरीसिकारबाट ३६ वटा र प्राकृतिक कारणले २४ वटा गैंडा मरेका थिए।
    पछिल्ला वर्षमा चोरीसिकार नियन्त्रणमा आए पनि बासस्थान व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। गैंडाका लागि वर्षभरि पर्याप्त पानी, घाँसेमैदान र आहाल आवश्यक हुन्छ। तर, पछिल्लो दुई दशकमा गेरुवा नदीको धार परिवर्तन हुँदै जाँदा नदीमा पानीको स्रोतसमेत घट्दै गएको छ।
    कर्णाली नदीको भँगालोले गेरुवाको धार परिवर्तन गरी पश्चिमतर्फ पानीको बहाव बढाएपछि गेरुवा तटीय क्षेत्रमा वन्यजन्तुका लागि पानीको उपलब्धता प्रभावित भएको सरोकारवालाहरूको भनाइ छ। बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाका लागि गेरुवा तटीय क्षेत्र प्रमुख पानीको स्रोत हो।
    बर्दिया निकुञ्जका पूर्ववार्डेन रमेशकुमार थापा गैंडाको संख्या घट्नुमा गेरुवा नदीको जलस्तर घट्नुका साथै घाँसेमैदान र आहालको उचित व्यवस्थापन नहुनुलाई प्रमुख कारण मान्छन्।
    ‘सुरक्षित बासस्थान, पर्याप्त आहारा र वर्षभरि पानीको उपलब्धता व्यवस्थापन गर्न जरुरी छ,’ उनले भने, ‘पछिल्ला वर्षमा जैविक मार्ग साँघुरिँदै जानु, मानवबस्ती विस्तार, सडक तथा अन्य मानवीय गतिविधि बढ्नु पनि गैंडाका लागि चुनौती बनेका छन्।’
    भारततर्फ किन जाँदैछन् गैंडा?
    बर्दिया र भारतको कतरनियाघाट वन्यजन्तु आरक्षबीचको जैविक सम्बन्ध पुरानो हो। वन्यजन्तुका लागि सीमापार आवतजावत स्वाभाविक प्रक्रिया भए पनि पछिल्ला वर्षमा बर्दियाबाट भारततर्फ गैंडाको संख्या बढ्नुले बासस्थान व्यवस्थापनमाथि प्रश्न उठाएको छ।
    खाता वन समन्वय समितिका अध्यक्ष हरि गुरुङका अनुसार कतरनियाघाटमा गैंडाका लागि पर्याप्त आहाल, घाँसेमैदान र पानीको स्रोत उपलब्ध छ। कर्णाली नदीमा भारततर्फ निर्माण गरिएका संरचनाका कारण पनि त्यहाँ पानीको उपलब्धता तुलनात्मक रूपमा राम्रो रहेको उनी बताउँछन्।
    ‘बर्दियामा आहाल र घाँसेमैदानको कमी छ। गैंडा ओहोरदोहोर गर्ने जैविक मार्गमा मानवबस्ती र अन्य गतिविधि बढेका छन्,’ गुरुङले भने, ‘त्यसैले भारततर्फको बासस्थान उनीहरूका लागि बढी अनुकूल बनेको हुन सक्छ।’
    भारतसँग जोडिएको मधुवन नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ खाता जैविक मार्गमा पर्छन्। यही मार्ग हुँदै गैंडालगायतका वन्यजन्तु नेपाल–भारत आवतजावत गर्छन्। तर, पत्थरबोझी, सोनाहा फाँटा, भगरैया, कोठियागाउँलगायतका बस्ती विस्तार हुँदै जाँदा जैविक मार्गमा मानवीय चाप बढेको छ।
    डिभिजन वन कार्यालय बर्दियाका प्रमुख वन अधिकृत विजयराज सुवेदी पनि भारत पुगेका गैंडा पुनः बर्दिया फर्कने सम्भावना कमजोर रहेको बताउँछन्। उनका अनुसार कतरनियाघाटमा पर्याप्त पानी र घाँसेमैदान भएकाले त्यहाँ पुगेका गैंडालाई फर्काउन कठिन हुन सक्छ।
    यद्यपि, बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत महेश न्यौपाने भने भारत पुगेका गैंडा स्थायी रूपमा त्यहीँ बस्ने निश्चित नभएको बताउँछन्।
    ‘प्राकृतिक कारणले गैंडा सीमा वारपार गर्ने गर्छन्,’ उनले भने, ‘भारत पुगेका गैंडा एकै ठाउँमा बसिरहने होइनन्। त्यसैले पुनः बर्दिया फर्किने सम्भावना रहन्छ।’
    पाँच वर्षमा सात गैंडा मरे
    पछिल्लो पाँच वर्षमा बर्दिया राष्ट्रिय निकुञ्जमा चार भाले र तीन पोथी गरी सात वटा गैंडा मरेका छन्। अधिकांश गैंडा आपसमा जुधेका कारण मरेका हुन्।
    पछिल्लो पटक साउन १६ गते गेरुवा गाउँपालिका–६ नौलोबाँस मध्यवर्ती सामुदायिक वनको गेरुवा नदीस्थित सैजनघाटमा करिब २०–२२ वर्षको एकसिंगे गैंडा आपसमा जुधेर मरेको थियो।
    त्यसअघि २०८२ वैशाख ४ गते शिव सामुदायिक वन डल्लामा गैंडाको बच्चा बाघले मारेको अवस्थामा फेला परेको थियो। २०८१ वैशाख ९ गते निकुञ्ज क्षेत्रमा करिब तीन वर्षको गैंडा आपसमा जुधेर मरेको थियो।
    त्यस्तै, २०८० माघमा बघौरा क्षेत्रमा करिब २५ वर्षको गैंडा आपसमा जुधेर मरेको थियो। २०८० पुस २१ गते नौलोबाँस मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट गैंडा मरेको थियो। सोही क्षेत्रमा पुस १८ गते एक पोथी गैंडा प्राकृतिक कारणले मरेको थियो। २०७९ साउन १४ गते अर्को गैंडा आपसमा जुधेर मरेको निकुञ्जले जनाएको छ।
    सूचना अधिकारी न्यौपानेका अनुसार गैंडाहरू आफ्नो प्रभुत्व कायम गर्न, घाँसेमैदान र आहालको उपयोगका क्रममा आपसमा जुध्ने गर्छन्। त्यसैले गैंडा जुध्ने अवस्था न्यूनीकरण गर्न आहालको संख्या र घाँसेमैदानको क्षेत्र बढाउन आवश्यक छ।
    निकुञ्ज कार्यालयका अनुसार यस वर्ष एक दातृ संस्थाको सहयोगमा गैंडाका लागि आहाल निर्माण तथा घाँसेमैदान व्यवस्थापनका काम गर्ने तयारी भइरहेको छ।
    ‘मृत्युथलो’ बन्न नदिन वैज्ञानिक व्यवस्थापन आवश्यक
    पूर्ववार्डेन थापाले बर्दियामा गैंडाको संख्या वृद्धि गर्न तत्काल बासस्थान व्यवस्थापनसँगै वैज्ञानिक प्रजनन कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिएका छन्।
    उनका अनुसार कम्तीमा पाँच सय हेक्टर क्षेत्रफलको सुरक्षित घेराभित्र गैंडालाई वैज्ञानिक व्यवस्थापनअन्तर्गत प्रजनन गराई संख्या बढेपछि क्रमिक रूपमा प्राकृतिक बासस्थानमा पुनःस्थापना गर्ने मोडेल नेपालका लागि उपयोगी हुन सक्छ।
    ‘भारत र दक्षिण अफ्रिकाका राष्ट्रिय निकुञ्जमा यस्तो मोडेल प्रयोग भएको छ। नेपालमा भने यो अभ्यासमा आएको छैन,’ थापाले भने, ‘बर्दियामा गैंडाको संख्या बढाउन यो मोडेल उपयुक्त हुन सक्छ।’
    पाँच वर्ष पुग्दा पनि भएन नयाँ गणना
    बर्दियामा गैंडाको वास्तविक संख्या कति छ भन्ने यकिन गर्न भने पछिल्लो गणनाको पाँच वर्ष बितिसक्दा पनि नयाँ गणना हुन सकेको छैन।
    २०७६ चैतमा हुनुपर्ने गैंडा गणना कोरोना महामारीका कारण २०७७ चैत ९ गते गरिएको थियो। त्यसको नतिजा चैत २८ गते सार्वजनिक गरिएको थियो। पाँच वर्षको अन्तरालमा गैंडा गणना गर्ने प्रचलन रहे पनि नियमित साझेदार संस्थाहरूबाट सहयोग रोकिएपछि यसपटक गणना हुन नसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
    राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), डब्लूडब्लूएफ नेपाल र जेडएसएललगायतका संस्थाले विगतमा गैंडा गणनामा सहयोग गर्दै आएका थिए।
    नेपालमा सन् १९९४ देखि गैंडा गणना सुरु भएको हो। त्यसयता सन् २०००, २००५, २००८, २०११, २०१५ र २०२१ मा गणना गरिएको छ। सन् १९९४ मा ४४६ गैंडा गणना भएकामा सन् २००० मा ५४४, २००५ मा ३७२, २००८ मा ४०८, २०११ मा ५०३, २०१५ मा ६४५ र २०२१ मा ७५२ वटा गैंडा गणना भएका थिए।
    सन् २०२१ को गणनामा चितवनमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीन गरी नेपालमा कुल ७५२ वटा गैंडा अभिलेख गरिएको थियो।
    बर्दियामा गैंडाको संख्या घट्नुको कारण चोरीसिकार नभई बासस्थानको गुणस्तर, पानीको उपलब्धता, आहारा र जैविक मार्गसँग जोडिँदै गएको देखिन्छ। त्यसैले गैंडा संरक्षण अब केवल चोरीसिकार नियन्त्रणमा सीमित नभई बासस्थान पुनर्स्थापना, पानीको दीर्घकालीन व्यवस्थापन, घाँसेमैदान विस्तार र सुरक्षित जैविक मार्ग संरक्षणतर्फ केन्द्रित हुनुपर्ने देखिएको छ।

  • २७ श्रावण २०८३, बुधबार १४:०२ प्रकाशित

  • Nabintech