नेपालगञ्जका २५ अस्पतालमा विपन्नका लागि ९४ निःशुल्क शय्या

  • नमस्ते कर्णाली

  • बाँके ,२९ साउन ।
    नेपालगञ्ज उपमहानगरपालिकाले विपन्न, असहाय तथा बेवारिसे नागरिकका लागि नगर क्षेत्रका २५ अस्पतालमा ९४ वटा निःशुल्क शय्या व्यवस्था गरेको छ । भदौ १ गतेदेखि प्रभावकारी रूपमा सेवा सञ्चालन गर्ने गरी आवश्यक तयारी पूरा गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
    लक्षित वर्ग निःशुल्क उपचार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३ अनुसार अस्पतालमा निःशुल्क उपचारका लागि फोकल पर्सन तोक्नुका साथै सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमले बताउनुभयो । उहाँका अनुसार शय्या मात्र नभई लक्षित वर्गको सम्पूर्ण उपचार निःशुल्क हुनेछ ।
    उपमहानगरपालिकाले अस्पतालमा दैनिक उपलब्ध निःशुल्क शय्याको अवस्था नागरिकले सहज रूपमा जानकारी पाउने व्यवस्था मिलाएको छ । नगर प्रमुख प्रशान्त विष्टले वास्तविक लक्षित वर्गले मात्र सेवा पाउने सुनिश्चित गर्न तथा दुरुपयोग रोक्न कडाइका साथ अनुगमन गरिने बताउनुभयो । उहाँले अस्पतालको १० प्रतिशत शय्या निःशुल्क उपचारका लागि छुट्याउने व्यवस्था कागजमा सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
    भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालका अनुसार आर्थिक रूपमा विपन्न भएको वडा कार्यालयको सिफारिस, नेपाल सरकारले जारी गरेको विपन्न परिचयपत्र वा आकस्मिक अवस्थामा तत्काल कागजात उपलब्ध नभए स्वघोषणा फाराम भरेर पनि सेवा लिन सकिनेछ ।
    उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विपन्नको सिफारिसमा हुन सक्ने दुरुपयोग रोक्न सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने बताउनुभयो ।
    जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख जागेश्वर बस्नेतका अनुसार प्रत्येक अस्पतालमा दैनिक निःशुल्क शय्याको अवस्था अद्यावधिक गरी सेवाग्राहीलाई जानकारी उपलब्ध गराइनेछ । साथै निःशुल्क स्वास्थ्य सेवा सहयोग कक्षमार्फत सहजीकरण र सम्बन्धित फोकल पर्सनमार्फत सेवा प्रवाहलाई व्यवस्थित गरिनेछ ।
    निःशुल्क उपचार सेवा प्राप्त गर्न कठिनाइ भएमा वा अस्पतालले सेवा उपलब्ध नगराएमा सम्बन्धित अस्पतालका फोकल पर्सन वा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तेज वलीसमक्ष गुनासो गर्न सकिने व्यवस्था गरिएको छ । थप जानकारीका लागि एआईको पैसा नलाग्ने ९७०२६९७७७२ नम्बरमा सम्पर्क गर्न सकिने उपमहानगरपालिकाले जनाएको छ ।
    कार्यविधि कार्यान्वयनका लागि यसअघि निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिसँग अभिमुखीकरण तथा समन्वय बैठकसमेत गरिएको थियो । अस्पतालस्तरमा निःशुल्क उपचार व्यवस्थापन समिति गठन, फोकल पर्सन तोक्ने र मुख्य प्रवेशद्वार नजिकै निःशुल्क स्वास्थ्य सेवा सहयोग कक्ष स्थापना गर्ने काम भइरहेको बस्नेतले बताउनुभयो ।
    नेपालको संविधानको धारा ३५(१) ले नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हक सुनिश्चित गरेको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ ले विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि अस्पतालको कुल शय्याको १० प्रतिशत निःशुल्क उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नगर स्वास्थ्य ऐन, २०७९ ले समेत उक्त व्यवस्थालाई कार्यान्वयन गर्न आधार प्रदान गरेको छ ।
    निःशुल्क उपचारको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएमा आर्थिक अभावका कारण उपचारबाट वञ्चित विपन्न तथा असहाय नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

  • २९ श्रावण २०८३, शुक्रबार ०९:४७ प्रकाशित

  • Nabintech