खजुरामै विशेषज्ञ क्यान्सर उपचार सेवा, बीपी क्यान्सर अस्पतालसँग सुशील कोइराला प्रखरको सहकार्य

  • नमस्ते कर्णाली

  • बाँके ,३१ साउन ।

    पश्चिम नेपालका क्यान्सरपीडित नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच विशेषज्ञ मेडिकल अंकोलोजी सेवा तथा संस्थागत सहकार्यसम्बन्धी सम्झौता भएको छ।
    बिहीबार भएको सम्झौतामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराई र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले आ–आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गर्नुभएको हो।
    सम्झौताअनुसार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रत्येक महिना दुई दिन योग्य तथा सम्बन्धित क्षेत्रमा दर्ता अनुमति प्राप्त मेडिकल अंकोलोजिस्ट खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपलब्ध गराउनेछ। यसबाट पश्चिम नेपालका क्यान्सर बिरामीले विशेषज्ञ चिकित्सकको परामर्श र उपचारका लागि भरतपुर तथा अन्य टाढाका उपचार केन्द्रमा पुग्नुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।
    सम्झौताअनुसार उपलब्ध हुने विशेषज्ञ चिकित्सकले ओपिडी सेवा, बिरामीको उपचार योजना निर्माण, किमोथेरापीको सुपरिवेक्षण, वार्ड राउन्ड, जटिल बिरामीको समीक्षा तथा आवश्यक विशेषज्ञ राय दिनेछन्। आवश्यकता अनुसार हेमाटो–अंकोलोजीलगायत सम्बन्धित विशेषज्ञ सेवा सञ्चालन र समन्वयमा समेत सहयोग गरिनेछ।
    दुई अस्पतालबीचको सहकार्य नियमित विशेषज्ञ सेवा उपलब्ध गराउनेमा मात्र सीमित नरहने भएको छ। दीर्घकालीन प्राविधिक, शैक्षिक तथा संस्थागत सहकार्यलाई समेत प्राथमिकता दिइएको छ। यसअन्तर्गत संयुक्त ट्युमर बोर्ड सञ्चालन, टेलि–अंकोलोजी परामर्श, क्लिनिकल अनुसन्धान तथा नर्सिङ, प्राविधिक र प्यारामेडिकल जनशक्तिका लागि संयुक्त तालिम सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
    विशेषज्ञ सेवा सञ्चालनका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आवश्यक ओपिडी कक्ष, क्लिनिकल पूर्वाधार, उपलब्ध मेडिकल उपकरण तथा सहयोगी जनशक्ति उपलब्ध गराउनेछ। बिरामीको नाम दर्ता, प्रारम्भिक जाँच, आवश्यक रिपोर्ट तथा उपचारसम्बन्धी अभिलेख व्यवस्थित गर्ने जिम्मेवारीसमेत अस्पतालले लिनेछ।
    यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सम्झौताबमोजिम प्रत्येक महिना दुई दिने सेवाका लागि दक्ष मेडिकल अंकोलोजिस्टको उपलब्धता सुनिश्चित गर्नेछ।
    सम्झौतामा बिरामीको हित, सुरक्षा, मर्यादा र गोपनीयतालाई सर्वोच्च प्राथमिकता दिइएको छ। उपचारसम्बन्धी निर्णय चिकित्सकीय मापदण्ड, उपलब्ध प्रमाण, अस्पतालको स्वीकृत उपचार प्रोटोकल तथा बिरामीको सूचित सहमतिका आधारमा गरिने व्यवस्था छ। जटिल वा थप विशिष्ट उपचार आवश्यक पर्ने बिरामीलाई चिकित्सकीय आवश्यकता र बिरामीको हितअनुसार उपयुक्त विशेषज्ञ केन्द्रमा पठाउन सकिनेछ।
    दुई अस्पतालबीचको सहकार्यले विशेषज्ञ चिकित्सकीय सेवासँगै ज्ञान, सीप, प्रविधि र अनुभव आदान–प्रदानलाई समेत प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। यसबाट पश्चिम नेपालमा क्यान्सर उपचार सेवाको पहुँच विस्तार हुनुका साथै स्थानीयस्तरमै उपलब्ध उपचार प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
    सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराईको नेतृत्वमा अस्पतालको सेवा विस्तार, सुदृढीकरण तथा संस्थागत विकासका कामलाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ। विभिन्न सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमार्फत अस्पतालको क्षमता अभिवृद्धि तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जनाइएको छ।
    सम्झौताको प्रमाणीकरणमा दुवै अस्पतालका विशेषज्ञ तथा प्रशासनिक अधिकारी साक्षी रहनुभएको छ। सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका तर्फबाट पेडियाट्रिक अंकोलोजी विभागीय प्रमुख डा. सुवास मेहता तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट मेडिकल अंकोलोजी विभागीय प्रमुख डा. गुरुशरण साह साक्षी रहनुभएको छ। वरिष्ठ प्रशासनिक अधिकृत गृहि महतो पनि साक्षीका रूपमा रहनुभएको छ।
    दुई विशिष्टीकृत क्यान्सर अस्पतालबीच भएको यो सहकार्यले पश्चिम नेपालका नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ क्यान्सर उपचार सेवा पाउने अवसर सिर्जना गर्नुका साथै उपचारका लागि आवश्यक विशेषज्ञ जनशक्ति, प्रविधि, ज्ञान र अनुभवको आदान–प्रदानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

  • ३० श्रावण २०८३, शनिबार १०:०२ प्रकाशित

  • Nabintech