सुर्खेत, ३१ साउन ।
वीरेन्द्रनगर नगरपालिका–११, शान्तिपुर झुप्राखोलाको बादी बस्तीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर गरिएको छ । योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान सुर्खेतको आयोजना तथा नेपाल औषधी व्यवस्था व्यवसायी संघ, कर्णाली प्रदेशको सहकार्यमा एकदिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
करिब ११५ जना स्थानीयले विशेषज्ञ स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गरेका छन् । स्त्रीरोग विशेषज्ञ डा. ललितजंग शाही र छालारोग विशेषज्ञ डा. जीविता शाहीबाट स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिएको थियो ।
स्थानीय समाजसेवी हरि बहादुर बादीको प्रमुख अतिथि समाजका जेष्ठ नागरिकबाट गोमा वादी बाट कार्यक्रम उद्घाटन गरिएको थियो । प्रतिष्ठानका संस्थापक अध्यक्ष धर्मराज शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख, प्रशिक्षक, कोर्डिनेटरलगायतको सक्रिय सहभागिता रहेको थियो ।
शान्तिपुर झुप्राखोलाका करिब १३९ घरधुरी जोखिमपूर्ण खोलाको किनारमा जीवन बिताइरहेका छन् । ढुङ्गा, गिटी र बालुवाको भरमा रोजीरोटी चलाउनु उनीहरूको रहर होइन, बाध्यता हो । एकातिर खोलाको जोखिम, अर्कोतिर गरिबीको भेल—बीचमा छन् ती परिवार, जसले वर्षौँदेखि आश्वासनको भारी बोकेर जीवन गुजारिरहेका छन् ।
विडम्बना त के छ भने, चुनाव आउँदा बाटो पनि आउँछ, नेता पनि आउँछन्, भाषण पनि आउँछ, आश्वासन पनि आउँछ । “अब तपाईंहरूको अवस्था बदलिन्छ” भन्ने मिठा शब्दहरू पनि आउँछन् । तर चुनाव सकिएपछि ती आश्वासनहरू कहाँ जान्छन ? सायद अर्को चुनावसम्मका लागि कुनै गोप्य गोदाममा थन्किन्छन !
यहाँका नागरिकलाई चुनावको बेला मात्रै सम्झिने राजनीति होइन, विपद्को बेला सम्झिने राज्य चाहिएको छ । उनीहरूलाई भाषण होइन, सुरक्षित बस्ती चाहिएको छ । फोटो खिच्ने कार्यक्रम होइन, दीर्घकालीन समाधान चाहिएको छ । नेताको आश्वासन होइन, जनताको जीवनमा देखिने परिवर्तन चाहिएको छ ।









