विदेश जाने सोच बदल्दै युवा, बाँकेमा फस्टाउँदै व्यावसायिक फलफूल खेती

  • नमस्ते कर्णाली

  • बाँके ,१ भदौ ।
    रोजगारी र राम्रो आम्दानीको खोजीमा युवाहरू विदेशिने क्रम बढिरहेका बेला बाँकेका केही युवाले भने आफ्नै माटोमा भविष्य खोज्न थालेका छन्। परम्परागत खेतीबाट अपेक्षित आम्दानी नभएपछि आधुनिक र व्यावसायिक कृषि रोज्ने युवाको संख्या बढ्दै जाँदा बाँकेमा फलफूल खेती नयाँ सम्भावनाका रूपमा विकसित हुँदै गएको छ।
    आँप, अम्बा, केरा, ड्रागन फ्रुट, मेवा र लिचीजस्ता फलफूलको व्यावसायिक खेतीमा किसानको आकर्षण बढेको छ। फलफूल खेतीबाट किसानले आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीका अवसरसमेत सिर्जना गर्न थालेका छन्।
    बाँकेमा करिब ५५ हजार ८ सय २५ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ४४ हजार ९ सय २२ हेक्टर क्षेत्रमा खेती भइरहेको छ। कृषि ज्ञान केन्द्र बाँकेको तथ्याङ्कअनुसार जिल्लामा करिब १ हजार ४ सय हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदै आएको छ। पछिल्लो समय किसानहरू परम्परागत अन्नबालीसँगै आँप, केरा, अम्बा, ड्रागन फ्रुट, मेवा र लिचीको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन्।
    एकपटक बिरुवा रोपेपछि वर्षौंसम्म उत्पादन लिन सकिने र बजारमा फलफूलको मागसमेत राम्रो रहेकाले युवाको रुचि यसतर्फ बढेको किसानहरू बताउँछन्। नेपालगञ्ज उपमहानगरपालिका–१९ का सुनिल बर्माले २०७८ सालदेखि परम्परागत खेती छाडेर व्यावसायिक अम्बा खेती गर्दै आउनुभएको छ।
    बर्मा भन्नुहुन्छ“परम्परागत खेतीभन्दा फलफूल खेतीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखेपछि अम्बा खेती सुरु गरेको हुँ। मेहनत र उचित व्यवस्थापन गर्न सके आफ्नै ठाउँमा बसेर पनि राम्रो आम्दानी गर्न सकिने रहेछ।”
    यस्तै अर्का कृषक रामलाल बर्माले फलफूल खेतीमा सम्भावना देखिए पनि सुरुवाती लगानी, प्राविधिक ज्ञान, रोग–किराको व्यवस्थापन र बजारको सुनिश्चितता किसानका लागि चुनौतीका रूपमा रहेको बताउनु हुन्छ। त्यसैले वैदेशिक रोजगारीमा जाने युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न सरकारले अनुदान, तालिम, प्रविधि र आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने व्यवसायी रामलाल बर्माको माग छ।

    बर्मा भन्नुहुन्छ“फलफूल खेतीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना छ। युवालाई विदेश जानबाट रोक्न कृषि क्षेत्रमा आकर्षित गर्ने गरी अनुदान, तालिम र बजारको व्यवस्था गर्न सरकारको विशेष ध्यान जानुपर्छ।”
    पछिल्लो समय बाँकेमा फलफूल खेतीको क्षेत्रफल निरन्तर विस्तार भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। किसानले समयमै सम्पर्क गरे कृषि ज्ञान केन्द्रका प्राविधिक टोलीले खेतबारीमै पुगेर रोग–किरा व्यवस्थापन, उत्पादन वृद्धि र आवश्यक प्राविधिक परामर्श दिँदै आएको छ।
    कृषि ज्ञान केन्द्र बाँकेकि वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्मा भन्नुहुन्छ “फलफूल खेतीतर्फ किसानको आकर्षण बढिरहेको छ। प्राविधिक समस्या परे किसानले सम्पर्क गरेमा खेतबारीमै पुगेर आवश्यक परामर्श र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छौँ। आगामी दिनमा फलफूल खेती अझ विस्तार हुने अपेक्षा गरेका छौँ।”
    फलफूल खेती विस्तारसँगै यसको प्रभाव किसानको आम्दानीमा मात्रै सीमित छैन। बगैँचा व्यवस्थापन, गोडमेल, सिँचाइ, फल टिप्ने, प्याकेजिङ तथा बजारसम्म पुर्‍याउने काममा स्थानीय श्रमिकको आवश्यकता पर्ने भएकाले यसले गाउँमै रोजगारी सिर्जना गर्ने सम्भावनासमेत बढाएको छ।
    तर उत्पादन बढ्दै गएसँगै बजार व्यवस्थापन, उचित मूल्य र भण्डारणको समस्या समाधान गर्नु पनि आवश्यक देखिन्छ। किसानले उत्पादन गरेको फलफूलले बजारमा उचित मूल्य पाउने वातावरण बनाउन सके व्यावसायिक खेतीप्रति अझ बढी आकर्षण बढ्न सक्ने कृषि क्षेत्रका जानकारहरू बताउँछन्।
    बाँकेको कृषि क्षेत्र अब केवल परम्परागत अन्नबालीमा सीमित नरही उच्च मूल्य र बजार सम्भावना भएका फलफूलतर्फ विस्तार हुँदै गएको छ। प्राविधिक सेवा, अनुदान, तालिम, सिँचाइ, गुणस्तरीय बिरुवा र प्रभावकारी बजार व्यवस्थापनमा राज्यले थप सहजीकरण गर्न सके फलफूल खेती जिल्लाको आयआर्जन र रोजगारीको बलियो आधार बन्न सक्छ।
    युवालाई स्वदेशमै रोक्ने बहस भइरहेका बेला बाँकेका फलफूल बगैँचाले एउटा सन्देश पनि दिएको छ—अवसर खोज्न सधैँ विदेश नै जानुपर्छ भन्ने छैन, सम्भावना आफ्नै माटोमा पनि हुन्छ। राज्यको साथ, किसानको मेहनत र बजारको सुनिश्चितता जोडिन सके व्यावसायिक फलफूल खेती युवा पुस्ताका लागि आकर्षक उद्यम बन्ने देखिन्छ।

  • १ भाद्र २०८३, सोमबार १०:२३ प्रकाशित

  • Nabintech