नेशनल प्याब्सन कोहलपुर नगर कमिटीको चौथो अधिवेशनबाट गोल्डेन फ्यूचर एकेडेमीका संस्थापक तथा प्रिन्सिपल ज्ञानेन्द्र आचार्य अध्यक्ष पदमा निर्वाचित भएका छन् । अधिवेशनले न्यू कर्णाली ईमी स्कुलका संस्थापक तथा प्रिन्सिपल गोकर्ण महतरालाई सचिव र आशा एकेडेमीका संस्थापक तथा प्रिन्सिपल ज्योति कैनीलाई कोषाध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष आचार्यसहित सचिव महतरा र कोषाध्यक्ष कैनीलाई शिक्षा क्षेत्रको विकास, निजी तथा संस्थागत विद्यालयका हकहितको संरक्षण र विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । अधिवेशनबाट नेतृत्व चयन भएसँगै कोहलपुरमा निजी विद्यालयहरूको साझा मुद्दा, संस्थागत विकास, शैक्षिक गुणस्तर तथा विद्यालय व्यवस्थापनका विषयमा नगर कमिटीले थप सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । नवनिर्वाचित पदाधिकारीहरूले निजी विद्यालय क्षेत्रका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै विद्यालय, विद्यार्थी, अभिभावक तथा शिक्षकका हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।









