खजुरामा निःशुल्क कान स्वास्थ्य शिविर, ५३२ जनाको परीक्षण गर्दा २८ जना शल्यक्रियाका लागि रेफर

  • नमस्ते कर्णाली

  • बाँके, ७ भदौ ।

    लामो समयदेखि कान दुख्ने, पाक्ने, कानेगुजी जम्ने तथा कानमा विभिन्न समस्या देखिए पनि आर्थिक अभाव, पहुँचको समस्या वा सामान्य समस्या ठानेर उपचारका लागि अस्पताल पुग्न नसकेका स्थानीयका लागि बाँकेको खजुरा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क कान स्वास्थ्य शिविर उपयोगी बनेको छ ।
    खजुरा गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको शिविरमा गाउँपालिकाका विभिन्न क्षेत्रबाट आएका ५३२ जनाको कान परीक्षण गरिएको छ । शिविरमा महिला तथा पुरुषको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
    शिविरमा परीक्षण गरिएका मध्ये ७५ जनामा कान पाक्ने समस्या देखिएको छ । यस्तै, ६१ जनामा कानेगुजी जम्ने, ३३ जनामा कानमा ढुसी लाग्ने तथा १८ जनामा कानमा मासु पलाउने समस्या पाइएको छ । थप उपचार तथा शल्यक्रिया आवश्यक देखिएका २८ जनालाई थप उपचारका लागि रेफर गरिएको छ ।
    कानमा समस्या देखिए पनि सुरुआती अवस्थामा उपचार नगर्ने र लामो समयसम्म बेवास्ता गर्ने प्रवृत्तिका कारण कतिपय बिरामीमा समस्या जटिल बन्दै जाने स्वास्थ्यकर्मीहरू बताउँछन् । शिविरले स्थानीयलाई आफ्नै कानको अवस्था बुझ्न तथा समस्या देखिए समयमै उपचारको पहुँचमा पुग्न सहयोग गरेको उनीहरूको भनाइ छ ।
    शिविरमा आएका सेवाग्राहीको कान परीक्षण, स्वास्थ्य जाँच तथा परामर्शका लागि सहायक चिकित्सक भीषण थारु, तीर्थमान थारु, दामोदर चौधरी र सीताकुमारी चौधरीलगायत स्वास्थ्यकर्मी खटिएका थिए । कानको समस्या भएका सेवाग्राहीलाई आवश्यक उपचार, औषधि तथा थप उपचारका सम्बन्धमा परामर्शसमेत दिइएको थियो ।
    शिविरमा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, नेपालगन्जले प्राविधिक सहयोग गरेको थियो । गाउँपालिकाले स्थानीयस्तरमै विशेषज्ञ तथा प्राविधिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको जनाएको छ ।
    शिविरका क्रममा शल्यक्रिया आवश्यक देखिएका २८ जनालाई थप उपचारका लागि रेफर गरिएको ब्रिनोजका आउटरिच इन्चार्ज भीषण थारुले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा स्थानीयको सहभागिता उत्साहजनक रहेको थियो ।
    “ठूलो संख्यामा स्थानीय कान परीक्षणका लागि आउनुले समुदायमा कानसम्बन्धी समस्या रहेको देखाएको छ,” थारुले भन्नुभयो, “कानको समस्या सामान्य ठानेर लामो समय बेवास्ता नगरी समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन आवश्यक छ ।”
    गाउँमै निःशुल्क कान परीक्षण तथा स्वास्थ्य परामर्शको अवसर पाएपछि स्थानीय सेवाग्राहीले समेत राहत महसुस गरेका छन् । यस्ता शिविरलाई निरन्तरता दिन सके आर्थिक तथा भौगोलिक कारणले नियमित स्वास्थ्य सेवाबाट वञ्चित स्थानीयलाई थप लाभ पुग्ने अपेक्षा गरिएको छ ।

  • ७ भाद्र २०८३, आईतवार ०६:३८ प्रकाशित

  • Nabintech