कोहलपुर ,१९ भदौ ।
बाँकेको कोहलपुर नगरपालिकाले लामो समयदेखि निष्क्रिय रहेका १३ वटा सहकारी संस्थाको दर्ता खारेजी प्रक्रिया अघि बढाएको छ।
नगरपालिकाका अनुसार ती सहकारी संस्थाले लामो समयदेखि कारोबार सञ्चालन नगरेको, नियमित साधारणसभा नगरेको तथा वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदनलगायत कानुनले तोकेका आवश्यक विवरण नगरपालिकामा पेश गरेका छैनन्। कतिपय सहकारीको कार्यालयसमेत सञ्चालनमा नरहेको र पटकपटक सम्पर्क गर्दा सञ्चालक तथा पदाधिकारी सम्पर्कमा नआएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाको उद्योग, सहकारी तथा उपभोक्ता हित संरक्षण उपशाखाले सार्वजनिक गरेको सूचनामार्फत सम्बन्धित सहकारीलाई ३५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भई संस्था अद्यावधिक गर्न अन्तिम मौका दिएको छ। तोकिएको अवधिभित्र आवश्यक प्रक्रिया पूरा नगरे कानुनबमोजिम दर्ता खारेजी प्रक्रिया अघि बढाइने नगरपालिकाले स्पष्ट पारेको छ।
नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार निष्क्रिय सहकारीलाई पटकपटक ताकेता गर्दा पनि संस्था सञ्चालनमा ल्याउने वा आवश्यक विवरण अद्यावधिक गर्ने काम नभएपछि दर्ता खारेजीको प्रक्रिया अघि बढाइएको हो। लामो समयदेखि साधारणसभा नगरेका, वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन नबुझाएका र कानुनअनुसार पेश गर्नुपर्ने अन्य विवरणसमेत नबुझाएका सहकारीलाई कारबाहीको प्रक्रियामा ल्याइएको उनले बताए।
आचार्यले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा कोहलपुर नगरपालिकाको सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार प्रक्रिया अघि बढाइएको जानकारी दिए। नगरपालिकाले सार्वजनिक गरेको सूचनामा संघीय सहकारी ऐन, २०७४ को व्यवस्थासमेत उल्लेख गर्दै लगातार दुई वर्षसम्म कारोबार नगरेका वा कानुनबमोजिम बुझाउनुपर्ने विवरण नबुझाएका सहकारीको दर्ता खारेज गर्न सकिने व्यवस्था रहेको जनाएको छ।
यी हुन् दर्ता खारेजी प्रक्रियामा रहेका १३ सहकारी
नगरपालिकाका अनुसार दर्ता खारेजी प्रक्रियामा रहेका सहकारीमा सफल पशुपन्छी सहकारी संस्था लिमिटेड, हाम्रो गौरव कृषि सहकारी संस्था लिमिटेड, चौतारी महिला कृषि सहकारी संस्था लिमिटेड, जुनतारा सशक्तीकरण कृषि सहकारी संस्था लिमिटेड, जनक शिक्षा कृषि सहकारी संस्था लिमिटेड, जय ठाकुरबाबा कृषि सहकारी संस्था लिमिटेड, कौशिलनगर कृषि सहकारी संस्था लिमिटेड, कनकासुन्दरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जुनी कृषि सहकारी संस्था लिमिटेड, नव किसान कृषि सहकारी संस्था लिमिटेड, फुलबारी कृषि सहकारी संस्था लिमिटेड, मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र फुलबारी महिला प्राङ्गारिक सहकारी संस्था लिमिटेड रहेका छन्।
नगरपालिकाले सार्वजनिक गरेको सूचनामा ती सहकारीका कोपोमिसमा उल्लेखित ठेगानासमेत समावेश गरिएको छ। सूचीमा रहेका सहकारी कोहलपुर नगरपालिकाका विभिन्न वडामा दर्ता भएका छन्।
नगरपालिकाले तोकिएको ३५ दिनभित्र सम्बन्धित सहकारीका सञ्चालक तथा पदाधिकारीलाई आवश्यक कागजातसहित सम्पर्कमा आएर संस्था अद्यावधिक गर्न आग्रह गरेको छ। निष्क्रिय सहकारीलाई नियमनको दायरामा ल्याउने र कानुनी प्रक्रिया पूरा नगर्ने संस्थाको दर्ता खारेज गर्ने नगरपालिकाको कदमले सहकारी क्षेत्रमा जवाफदेहिता र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।









