बास नेपालको २३औँ साधारण सभा सम्पन्न, सुशासन अभियानको प्रशंसा

  • नमस्ते कर्णाली

  • बाँके ,२१ भदौ।
    बास नेपालको २३औँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ। संस्थापक सल्लाहकार रुद्रप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बास नेपालले सुशासन, पारदर्शिता र सामाजिक जवाफदेहिताका क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गरिएको छ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिमिल्सिनाले बास नेपालले विभिन्न परिस्थितिमा निरन्तर काम गर्दै आफूलाई अब्बल संस्थाका रूपमा स्थापित गरेको बताउनुभयो। सार्वजनिक निकायको सेवा प्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउँदै सुशासनको बाटो पहिल्याउन बास नेपाल सफल भएको उहाँको भनाइ थियो। उहाँले संस्थाको स्थापनाकाल स्मरण गर्दै २३औँ साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो।


    कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वकर्माले सुशासन र सामाजिक जवाफदेहिताका क्षेत्रमा बास नेपालको योगदान प्रशंसनीय रहेको बताउनुभयो। बास नेपालसँग कोहलपुर नगरपालिकाले सहकार्य गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
    गैरसरकारी संस्था महासङ्घ बाँकेका सल्लाहकार निर्मला सुनारले बास नेपाल देशव्यापी रूपमा नवीन सोच भएका युवाहरूको सक्रिय सञ्जालका रूपमा स्थापित भएको बताउनुभयो। बास नेपालका सल्लाहकार किरण आचार्यले युवाहरूको अगुवाइमा क्रियाशील बृहत् संस्थाका रूपमा बासले आफ्नो पहिचान बनाएको उल्लेख गर्नुभयो।
    त्यस्तै, गैरसरकारी संस्था महासङ्घका उपाध्यक्ष तारा खत्रीले बास नेपाल अन्य संस्थाका लागि समेत उदाहरणीय संस्था बनेको बताउनुभयो। सल्लाहकार पूर्णलाल चुकेले सुशासनको अभियानमा बास नेपालले निरन्तर गर्दै आएको योगदानको प्रशंसा गर्दै संस्थाको सफलताको शुभकामना व्यक्त गर्नुभयो।


    नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले बास नेपालका क्रियाकलाप प्रभावकारी र समाजमुखी भएकै कारण संस्था आम नागरिकको मनमस्तिष्कमा बस्न सफल भएको बताउनुभयो। सुशासनको पैरवी, उत्तरदायित्व र जवाफदेहिता प्रवर्द्धन गर्दै समुन्नत समाज निर्माणमा बास अझ प्रभावकारी बन्दै समाजको भरोसाको संस्था बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
    नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष विष्णु श्रेष्ठले समाज रूपान्तरणका लागि बास नेपालले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताउनुभयो। सुशासनको आवाजको अगुवाइ गर्दै समुन्नत समाज निर्माणमा संस्थाको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।


    कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष धीरेन्द्र शाहीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। आर्थिक वर्ष २०८२/०८३ को सामाजिक परीक्षण कार्यक्रम सामाजिक परीक्षक दुर्लभ बोगटीले सहजीकरण गर्नुभएको थियो।
    साधारण सभाका अवसरमा बास नेपालको केन्द्रीय कार्यालय भवन निर्माणमा सहयोग गर्ने साध्या गुप्ता, सुमित्रा मल्ल, अम्बिका गुरुङ र फनबहादुर गुरुङलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। त्यसैगरी, बर्दियाको ठाकुरद्वारामा सम्पन्न वार्षिक समीक्षा तथा योजना तर्जुमा बैठकमा नवीन योजना प्रस्तुत गर्ने निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी र कार्यक्रम अधिकृत रविन्द्र बोहरालाई सम्मानपत्र प्रदान गरिएको थियो।
    रसुवा बाढीपीडितका लागि ५० हाइजेनिक किट हस्तान्तरण
    साधारण सभाकै अवसरमा जनजीवन सेवा फाउन्डेसनका अक्षम द्विवेदी, शिव शुक्ला र भोजराज तिमिल्सिनाले रसुवा बाढीपीडितलाई वितरण गर्ने उद्देश्यले ५० थान हाइजेनिक किट बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मालाई हस्तान्तरण गर्नुभयो।


    साधारण सभाको अवसरमा रक्तदान
    बास नेपालको २३औँ साधारण सभाको अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रको सहकार्यमा भएको रक्तदान कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी, जनसम्पर्क अधिकृत माधव कार्की, भीष्म लोध, रचना चौधरी, मेघा राना, तेज बोहरा, रोहन थारु, कर्ण रिमाललगायतले रक्तदान गर्नुभएको थियो।
    साधारण सभाको बन्दसत्रबाट वार्षिक कार्ययोजना अनुमोदन
    उद्घाटन सत्रपछि सम्पन्न बन्दसत्रमा संस्थाको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदनमाथि व्यापक छलफल गरी अनुमोदन गरिएको थियो। साधारण सभाले चालु आर्थिक वर्षको वार्षिक कार्ययोजनासमेत स्वीकृत गरेको छ।
    केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न बन्दसत्रको सहजीकरण केन्द्रीय कार्यवाहक महासचिव कमलबहादुर शाहीले गर्नुभएको थियो। साधारण सभामा २८० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।

  • २१ भाद्र २०८३, आईतवार ०९:३५ प्रकाशित

  • Nabintech