रसुवामा बाढी आएको दुई साताभन्दा बढी भइसकेको छ। तर बाढीपछि सम्पर्कविहीन भएका आफ्ना आफन्तको खबर पर्खिरहेका बाँकेका परिवारका लागि भने हरेक दिन झन् लामो र पीडादायी बन्दै गएको छ। फोनको घन्टी बज्दा हराएका आफन्तको खबर आयो कि भन्ने आशा जाग्छ, तर फोन उठ्दैन। न कुनै सन्देश आउँछ, न कुनै खबर। आशा र चिन्ताबीच दिन बिताइरहेका परिवारलाई अहिले एउटै प्रश्नले सताइरहेको छ—आफ्ना मान्छे कहाँ छन्?
नेपालगञ्ज उपमहानगरपालिका–२० की कर्णसरी रोकाया पनि यही पीडामा हुनुहुन्छ। ठूलो बाबुलाई भेट्न र गोसाइँकुण्ड घुम्न काठमाडौं हुँदै रसुवा पुगेका छोरा दीपक रोकायासँग उहाँको भदौ ९ गते अन्तिम पटक कुराकानी भएको थियो। त्यसपछि छोरासँग फोन सम्पर्क हुन सकेको छैन। हरेकपटक फोन बज्दा छोरा दीपकको खबर आएको हुनसक्ने आशा गर्ने कर्णसरीको मनमा अहिले चिन्ता र बेचैनी बढ्दै गएको छ।
रोजगारीका लागि रसुवाको भन्सार पुगेका योजना दमाई र आराम दमाई दम्पती पनि बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ। बाढी आएको लामो समय बितिसक्दा पनि उहाँहरूबाट कुनै खबर नआएको परिवारले जनाएको छ। परिवारका सदस्यहरू फोन सम्पर्क हुने आशामा दिन बिताइरहेका छन्।
कोहलपुर नगरपालिका–११ का अमरसिंह चौधरी पनि लामो समयदेखि रसुवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो। भदौ ९ गते साँझ छोरी अनितासँग उहाँको कुराकानी भएको थियो। त्यसको भोलिपल्ट बिहान रसुवामा बाढी आएको खबर पाएपछि परिवारले अमरसिंहलाई पटक–पटक फोन गरे पनि फोन उठेन। त्यसयता परिवारका लागि बज्ने हरेक फोनको घन्टीसँगै बुबाको खबर आउने आशा जोडिएको छ।
कोहलपुरकै २४ वर्षीय दीपक चौधरी पनि रोजगारीकै सिलसिलामा रसुवा पुग्नुभएको थियो। आमासँग नियमित फोनमा कुराकानी हुने गरे पनि बाढीपछि उहाँसँग सम्पर्क टुटेको छ। छोराको अवस्थाबारे कुनै जानकारी नआएपछि परिवार चिन्तित बनेको छ।
कोहलपुरकी बतासी चौधरीको पीडा पनि उस्तै छ। उहाँका श्रीमान् आशाराम थारु र छोरा पृथ्वी थारु दुवै लामो समयदेखि रोजगारीका लागि रसुवामा हुनुहुन्थ्यो। तर बाढीपछि श्रीमान् र छोरासँगै सम्पर्कविहीन भएपछि बतासी अहिले दुवैको खबरको प्रतीक्षामा हुनुहुन्छ। एउटै घरका दुई सदस्य बेपत्ता भएपछि उहाँको पीडा झन् गहिरिएको छ।
बाँकेबाट रसुवा पुगेर बेपत्ता भएका ५५ जनामध्ये ४२ पुरुष र १३ महिला रहेको विवरण छ। कोहलपुरबाट मात्रै १४ जना रसुवा पुगेका थिए। तीमध्ये दुई जनाको मृत्यु भएको, एक जना सम्पर्कमा आएको र ११ जना अझै सम्पर्कविहीन रहेको कोहलपुर नगरपालिकाले जनाएको छ।
बाढी आएको दुई साता बितिसक्दा पनि बेपत्ता आफन्तको अवस्था थाहा नपाउँदा परिवारको चिन्ता झन् बढेको छ। रोजगारी, भेटघाट र घुमफिरका लागि घरबाट टाढा पुगेका उनीहरू अहिले परिवारको सम्पर्कभन्दा टाढा छन्। घरमा भने उनीहरू फर्किएर आउने आशा अझै मरेको छैन।
हरेक दिन ढोकातिर हेर्ने आँखा, बज्ने हरेक फोनमा झस्किने परिवार र मनमा पलाइरहेको एउटै आशा—‘हाम्रो मान्छेको खबर आओस्।’
रसुवाको बाढीले भौतिक संरचना मात्रै बगाएको छैन, धेरै परिवारको सुख, शान्ति र मानसिक शान्तिसमेत खोसेको छ। बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि समयसँगै चिन्ता र अनिश्चितता बढ्दै गएको छ। त्यसैले अब बेपत्ताको खोजी तथा उद्धारलाई थप तीव्र बनाउन, पहिचानको काम प्रभावकारी बनाउन र पीडित परिवारलाई नियमित तथा विश्वसनीय सूचना उपलब्ध गराउन आवश्यक देखिएको छ।









