बर्दिया ,१५ असोज ।
धान पाक्ने समय नजिकिँदै जाँदा बर्दियाका किसानलाई जंगली हात्तीको त्रासले सताउन थालेको छ। खेतमा पाक्न लागेको धान जोगाउन किसान रातभर जाग्राम बस्ने, टिन ठटाउने, राँको बाल्ने र होहल्ला गरेर हात्ती धपाउने गर्दै आएका छन्। बाली भित्र्याउने बेलामा हात्ती खेत पस्न थालेपछि किसान वर्षभरको मेहनत नष्ट हुने चिन्तामा छन्।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासका बस्तीमा पछिल्लो तीन सातायता जंगली हात्तीले धानबालीमा क्षति पुर्याउन थालेका हुन्। बर्दिया राष्ट्रिय निकुञ्ज र सीमावर्ती भारतको कतरनियाघाट वन्यजन्तु आरक्षतर्फबाट आउने हात्तीका कारण गेरुवा गाउँपालिका र खाता क्षेत्रका किसान त्रसित भएका छन्।
गेरुवा गाउँपालिका–४ का दंगपुरुवा, खल्लापुर, शान्तिपुर, ढुकुनेलगायत क्षेत्रमा हात्तीले धानबालीमा ठूलो क्षति पुर्याएको मध्यवर्ती सामुदायिक वन गोलाका अध्यक्ष दिनेश शाहीले बताउनुभयो। उहाँका अनुसार शान्तिपुर–ढुकुनेमा करिब तीन बिघा, राजीपुरमा दुई बिघा, दंगपुरुवामा चार बिघा, खल्लागाउँमा धान र मकैसहित तीन बिघा तथा गोलामा एक बिघा धानबालीमा हात्तीले क्षति पुर्याइसकेको छ।
‘धान पाक्ने बेलामा हात्ती खेतमा पस्न थालेपछि किसान रातभर जाग्राम बस्न बाध्य छन्,’ शाहीले भन्नुभयो, ‘टिन ठटाउने, राँको बाल्ने र होहल्ला गरेर हात्ती भगाउने गरेका छौँ। हात्ती आएको जानकारी गराएपछि निकुञ्जका कर्मचारी र सेनाको टोली आउने गरे पनि हरेक पटक समयमै पुग्न सम्भव हुँदैन।’
किसानका अनुसार रातको समयमा हात्ती खेतमा पस्ने भएकाले बाली जोगाउन उनीहरू समूह बनाएर खेत आसपासमै बस्ने गरेका छन्। हात्ती धपाउन खोज्दा जोखिमसमेत हुने भएकाले किसानमा बालीसँगै ज्यानको सुरक्षाको चिन्ता थपिएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत महेश न्यौपानेले वन्यजन्तुबाट धान, मकैलगायत बालीमा क्षति भएमा प्रचलित व्यवस्था अनुसार क्षतिपूर्ति उपलब्ध गराउने गरिएको बताउनुभयो। उहाँका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सय २० भन्दा बढी हात्ती रहेका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फाहाम्फेका अनुसार कर्णाली नदी तटीय क्षेत्रअन्तर्गत गेरुवा गाउँपालिका–४ को ढिकपुर, दंगपुरुवा र गोला गाउँमा तीन वटा हात्तीले पाक्न लागेको धानबालीमा क्षति पुर्याइरहेका छन्। हालसम्म मानवीय क्षति नभए पनि बालीमा भने उल्लेख्य क्षति पुगेको उहाँले बताउनुभयो।
यस्तै, खाता जैविक मार्गअन्तर्गत डल्ला क्षेत्रमा पनि हात्तीले धानबालीमा क्षति पुर्याउन थालेको खाता वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताउनुभयो। उहाँका अनुसार धान पूर्णरूपमा पाक्ने असोजको अन्तिम सातातिर ठूलो संख्यामा हात्ती खेतमा प्रवेश गर्ने भएकाले आगामी दिनमा क्षति अझ बढ्न सक्ने जोखिम छ।
खाता जैविक मार्ग क्षेत्रमा हात्ती र मानवबीचको द्वन्द्व पुरानै समस्या हो। गुरुङका अनुसार पछिल्ला तीन वर्षमा मात्रै हात्तीले यस क्षेत्रमा ३० भन्दा बढी घरमा क्षति पुर्याइसकेको छ। बाली तथा घरमा क्षति पुर्याउँदै आएको हात्तीको आवतजावत रोक्न दीर्घकालीन उपाय आवश्यक रहेको उहाँको भनाइ छ।
‘क्षतिपूर्ति मात्रै होइन, बाली जोगाउने व्यवस्था चाहियो’
किसानले हात्तीले बाली नष्ट गरेपछि क्षतिपूर्ति पाउने व्यवस्था भए पनि त्यसले वर्षभरको मेहनत र उत्पादनको क्षति पूर्ति गर्न नसक्ने गुनासो गरेका छन्। उनीहरूले हात्ती आउने क्षेत्रमा नियमित गस्ती, समयमै सूचना दिने प्रणाली र हात्ती नियन्त्रण तथा धपाउने प्रभावकारी व्यवस्था गर्न माग गरेका छन्।
‘धान काटेर घर भित्र्याउने बेला भएको छ, यही समयमा हात्ती खेतमा पसेपछि वर्षभरको मेहनत खेर जाने डर छ,’ स्थानीय किसानको गुनासो छ, ‘रातभर खेतमा बसेर हात्ती कुर्नुपर्ने अवस्था छ। हामीलाई क्षतिपूर्ति भन्दा पनि हात्ती खेतमा पस्न नदिने स्थायी उपाय चाहिएको छ।’
किसानले हात्ती आउने सम्भावित क्षेत्र पहिचान गरी जोखिमयुक्त बस्ती र खेतमा पूर्वसूचना प्रणाली स्थापना गर्न, वन कार्यालय, निकुञ्ज, नेपाली सेना तथा स्थानीय समुदायबीच समन्वय बढाउन र क्षतिको तत्काल स्थलगत अनुगमन गरी राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। साथै, हात्तीको प्राकृतिक आवागमन मार्ग संरक्षण गर्दै मानव बस्ती र खेतीयोग्य जमिनमा प्रवेश गर्ने जोखिम घटाउने दीर्घकालीन योजना आवश्यक रहेको उनीहरूको भनाइ छ।










