राजापुरको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाबीच बृहत् अन्तरक्रिया

  • नमस्ते कर्णाली

  • बर्दिया,१५ असोज ।

    राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्धि सुधारका लागि विभिन्न सरोकारवालाबीच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगरपालिकाको शैक्षिक अवस्थाको समीक्षा गर्दै विद्यमान चुनौती पहिचान र सुधारका लागि आवश्यक पहल तथा आगामी कार्यदिशाबारे छलफल गरिएको छ।
    राजापुर नगरपालिका, राधाकृष्ण थारू जनसेवा केन्द्र (आरकेजेएस), बाँके युनेस्को क्लब (बियुसी) तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि सुरक्षित भविष्य परियोजना तथा सोनाहा विकास समाज र गुड नेबर्स इन्टरनेशनलको संयुक्त साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो।


    राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, बडघर, विकास साझेदार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
    कार्यक्रममा नगर उपप्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, गुड नेबर्स इन्टरनेशनलकी एमइएएल संयोजक विष्णुकुमारी बराल, सोनाहा विकास समाजकी कार्यक्रम संयोजक रत्न केसीलगायतको उपस्थिति थियो। सुरक्षित भविष्य परियोजनाका कार्यक्रम संयोजक मनोज पौडेल तथा फिल्ड सुपरभाइजरहरू रेणुका चन्द, दीक्षा बिष्ट, प्रमिशा चौधरी र सञ्जिता रिजाललगायत परियोजनाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण टीकानाथ गोसाईले गर्नुभएको थियो।
    अन्तरक्रियाका क्रममा राजापुर नगरपालिकाको विगतदेखि वर्तमानसम्मको शैक्षिक अवस्थाको समीक्षा तथा विश्लेषण गरिएको थियो। शैक्षिक सुधारका लागि भएका प्रयास, प्राप्त उपलब्धि, विद्यमान चुनौती तथा आगामी दिनमा सुधार गर्न सकिने क्षेत्रका विषयमा सहभागीहरूले आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।


    विशेषगरी बालबालिकाको सिकाइ उपलब्धिमा अपेक्षित सुधार ल्याउन आवश्यक पहल, विद्यालयको शैक्षिक वातावरण, शिक्षक तथा विद्यालय प्रशासनको प्रभावकारिता, अभिभावकको सहभागिता र समुदायको भूमिकालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
    छलफलका क्रममा बालविवाह, प्रविधिको अस्वस्थ प्रयोग, कुलत तथा दुर्व्यसनलगायतका समस्याले बालबालिकाको शिक्षा, संरक्षण र समग्र विकासमा पार्न सक्ने प्रभावबारे समेत गम्भीर छलफल गरिएको थियो। यस्ता चुनौती न्यूनीकरणका लागि विद्यालयमा बालमैत्री तथा सुरक्षित सिकाइ वातावरण निर्माण, शिक्षक तथा विद्यालय प्रशासनको जवाफदेहिता अभिवृद्धि, अभिभावकको सक्रिय सहभागिता र समुदायको स्वामित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
    कार्यक्रममा नगर उपप्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा तथा राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले शैक्षिक गुणस्तर सुधारका लागि आफ्ना धारणा, अनुभव तथा सुझाव प्रस्तुत गर्नुभएको थियो।
    उहाँहरूले राजापुरको समग्र शैक्षिक विकासका लागि स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक, समुदाय, संघसंस्था तथा विकास साझेदारबीच प्रभावकारी समन्वय, सहकार्य र साझा जवाफदेहिता आवश्यक रहेको बताउनुभयो। शैक्षिक सुधारका प्रयासलाई योजनाबद्ध, सहभागितामूलक र परिणाममुखी बनाउनुपर्नेमा समेत उहाँहरूले जोड दिनुभयो।


    अन्तरक्रियाका क्रममा सहभागीहरूबाट नियमित पठनपाठन, सिकाइ उपलब्धि अभिवृद्धि, विद्यालय व्यवस्थापनको प्रभावकारिता, शिक्षकको उत्तरदायित्व, बालमैत्री शैक्षिक वातावरण निर्माण तथा विद्यालय र समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा विभिन्न व्यावहारिक सुझाव संकलन गरिएको थियो। प्राप्त सुझावलाई आगामी दिनमा शैक्षिक सुधारसम्बन्धी योजना निर्माण तथा कार्यान्वयनमा उपयोग गर्ने विषयमा समेत छलफल भएको छ।
    कार्यक्रमले राजापुर नगरपालिकाको शैक्षिक अवस्थाको समीक्षा गर्दै विद्यमान चुनौती पहिचान, सुधारका सम्भावित उपायको खोजी तथा आगामी कार्यदिशा निर्माणका लागि सरोकारवालाबीच साझा समझदारी र प्रतिबद्धता विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।


    गुणस्तरीय शिक्षा विद्यालयको मात्र नभई स्थानीय सरकार, शिक्षक, अभिभावक, समुदाय र विकास साझेदार सबैको साझा जिम्मेवारी भएकाले सामूहिक प्रतिबद्धता र निरन्तर सहकार्यबाट बालबालिकाका लागि गुणस्तरीय, सुरक्षित, समावेशी तथा अवसरयुक्त शैक्षिक वातावरण निर्माण गर्न सकिनेमा सहभागीहरूले जोड दिएका छन्।
    बालबालिका, किशोरकिशोरी तथा युवाहरूको शिक्षा, संरक्षण र समग्र विकासका लागि सञ्चालित सुरक्षित भविष्य परियोजनाले स्थानीय सरकार तथा विभिन्न सरोकारवालासँगको साझेदारीमा शैक्षिक गुणस्तर सुधार, बालअधिकार प्रवर्द्धन तथा सुरक्षित र समावेशी वातावरण निर्माणका लागि निरन्तर काम गर्दै आएको जनाएको छ।

  • १५ आश्विन २०८३, बिहीबार २०:५५ प्रकाशित

  • Nabintech