सुर्खेत ,१९ असोज ।
दुई वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक भने निर्धारित मितिमै सञ्चालन हुने आधार बलियो बनेको छ। पटक–पटक मिति सारिँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरमा कर्णाली प्रदेशमा सञ्चालन गर्ने गरी संघीय सरकारले तयारी तीव्र पारेपछि प्रतियोगिता हुने सुनिश्चितता बढेको हो।
कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिता २०८१ मंसिरमै सम्पन्न भइसक्नुपर्ने थियो। तर, पूर्वाधार निर्माणलगायतका कारण पटक–पटक मिति सारिँदै आएको थियो। पछिल्लोपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय मन्त्रिपरिषद्बाट समेत अनुमोदन भएपछि प्रतियोगिता तयारीले गति लिएको हो।
कर्णालीले २०७९ कात्तिक ३ गते पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको थियो। त्यसपछि पहिलोपटक २०८१ मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको थियो। प्रदेश रंगशाला निर्माण सम्पन्न नभएका कारण उक्त मितिमा प्रतियोगिता हुन सकेन।
त्यसपछि २०८१ चैत २३ देखि ३० गतेसम्म दोस्रोपटक र २०८२ जेठ ३ देखि १० गतेसम्म तेस्रोपटक प्रतियोगिताको मिति तोकियो। ती दुवै मिति पनि कार्यान्वयन हुन सकेनन्। चौथोपटक २०८२ फागुनमा प्रतियोगिता गर्ने गरी मिति तोकिए पनि प्रतियोगिता सञ्चालन हुन सकेन।
पछिल्लोपटक २०८३ साउन २८ गते बसेको राखेपको १२५औँ बोर्ड बैठकले मंसिरमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेपछि अहिले संघीय र प्रदेश सरकारसहित सम्बन्धित निकाय तयारीमा जुटेका छन्।
प्रतियोगिता तयारी तथा सञ्चालनका विषयमा आइतबार १०औँ राष्ट्रिय खेलकुद–२०८३ मूल आयोजक समितिको बैठकसमेत सम्पन्न भएको छ। शिक्षा तथा खेलकुदमन्त्री तथा राखेप अध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्ने गरी विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव राम चरित्र मेहताले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ को अधीनमा रही प्रतियोगिताको पूर्वतयारी, व्यवस्थापन र सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँले अब प्रतियोगिता तोकिएकै मितिमा सञ्चालन हुने गरी आवश्यक तयारी अघि बढाइएको बताउनुभयो।
निर्णयअनुसार प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। ३२ खेल विधामा प्रतिस्पर्धा सञ्चालन गर्ने तयारी गरिएको छ। प्रतियोगिताका लागि संघीय सरकारले ७१ करोड रुपैयाँ बजेट उपलब्ध गराएको सदस्य सचिव मेहताले जानकारी दिनुभयो।
बैठकले प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ। प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित बनाउन निजी क्षेत्र, संघसंस्था तथा अन्य सरोकारवाला निकायको सहभागितामा सार्वजनिक–निजी साझेदारीको अवधारणा अघि बढाउने र प्रायोजकसँग समझदारीपत्र (एमओयू) गरी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय भएको छ।
त्यस्तै, राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ बमोजिम विषयगत उपसमिति गठन गर्ने तथा प्रतियोगिता सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक कार्य गर्न कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि बैठकले गरेको छ।
साढे ६ हजार खेलाडी सहभागी हुने
आगामी मंसिरमा वीरेन्द्रनगरमा भव्य समारोहबीच उद्घाटन हुने प्रतियोगितामा करिब साढे ६ हजार खेलाडी र तीन हजारजति अफिसियल सहभागी हुने कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन चन्दले जानकारी दिनुभयो।
उहाँका अनुसार ३२ खेल विधामध्ये २८ खेल कर्णाली प्रदेशका सुर्खेत, कालीकोट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्लामा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। बाँकी चार खेल नेपालगञ्जमा सञ्चालन गर्ने प्रस्ताव राखिएको छ।
प्रतियोगितामा सहभागी खेलाडी, अफिसियल तथा पाहुनाको आवास व्यवस्थापनका लागि निजी क्षेत्रसँग समन्वय भइरहेको छ। परिषद्का उपाध्यक्ष प्रमोद हमालको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरी आवश्यक तयारी अघि बढाइएको छ।
धेरैजसो खेल सञ्चालन हुने वीरेन्द्रनगरमा उपलब्ध करिब ६ हजार बेडमा सहभागीको आवास व्यवस्थापन गर्ने तयारी गरिएको छ। बाँकी सहभागीलाई खेल विधा र जिल्लाअनुसार होटल तथा सार्वजनिक भवनमा राख्ने व्यवस्था मिलाइने परिषद्ले जनाएको छ।
कुन जिल्लामा कुन खेल ?
प्रस्तावित कार्यतालिकाअनुसार अधिकांश खेल सुर्खेतमा सञ्चालन हुनेछन्। सुर्खेतमा एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, महिला तथा पुरुष बास्केटबल, महिला तथा पुरुष क्रिकेट, शारीरिक सुगठन, महिला तथा पुरुष ह्यान्डबल, जुडो, महिला तथा पुरुष भलिबल, महिला तथा पुरुष रग्बी, तेक्वान्दो, महिला तथा पुरुष फुटबल, उसु, भारोत्तोलन, कुस्ती, महिला तथा पुरुष कबड्डी, कराते, फुल कन्ट्याक्ट कराते, महिला तथा पुरुष हक्की, ई–स्पोर्ट, स्क्वास, साइक्लिङ, जिम्न्यास्टिक र सेपाकताक्रो सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, कालीकोटमा शारीरिक सुगठन, जाजरकोटमा जुडो, रुकुम पश्चिममा महिला तथा पुरुष खो–खो, सल्यानमा टेबल टेनिस, दैलेखमा बुद्धिचाल तथा जिम्न्यास्टिक र जुम्लामा आर्चरी सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
खेल पूर्वाधारको उपलब्धतालाई ध्यानमा राख्दै भारोत्तोलन, टेनिस, पौडी र सुटिङका खेल नेपालगञ्जमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित खेल, स्थान तथा मौसमका विषयमा प्राविधिक समितिले दिएको सुझावका आधारमा अन्तिम निर्णय गरिने राखेपले जनाएको छ।
रंगशाला असोजमै हस्तान्तरण गर्ने तयारी
१०औँ राष्ट्रिय खेलकुदका अधिकांश खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण गरिएको कर्णाली प्रदेश रंगशाला अब प्रदेश सरकारको स्वामित्वमा ल्याउने तयारी भइरहेको छ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव चन्दका अनुसार सामान्य मर्मत तथा रंगरोगनका कामबाहेक रंगशाला निर्माणको मुख्य काम सम्पन्न भइसकेको छ। निर्माण कम्पनीले असोज मसान्तसम्म रंगशाला हस्तान्तरण गर्ने तयारी गरेको उहाँले बताउनुभयो।
वीरेन्द्रनगरमा निर्माण गरिएको प्रदेश रंगशालाको लागत एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ रहेको छ। एमएसी–जीएसएल जेभीले निर्माण गरेको रंगशालामा करिब १० हजार दर्शक क्षमताको प्यारापिटसहित विभिन्न खेलका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको छ।
रंगशाला परिसरमा फुटबल मैदान, चार सय मिटरको एथलेटिक्स ट्र्याक, पौडी पोखरी, दुईवटा कभर्ड हल, भलिबल कोर्ट, बास्केटबल, ह्यान्डबल, क्रिकेट मैदान तथा इन्डोर क्रिकेट हल, कबड्डी र खो–खोलगायतका पूर्वाधार निर्माण गरिएको छ।
फिफाको मापदण्डअनुसार १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल मैदान निर्माण गरिएको छ। वर्षाका बेला मैदानमा जमेको पानी २० देखि २५ मिनेटभित्र सुक्ने प्रविधिसमेत जडान गरिएको छ।
त्यस्तै, करिब एक हजार पाँच सय दर्शक क्षमताको इन्डोर भलिबल कभर्ड हल, खेलाडीका लागि चेन्जिङ रुम, प्रतीक्षालय, विश्राम कक्ष, फिजियो तथा मेडिकल कक्ष निर्माण गरिएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार चार सय मिटर लामो एथलेटिक्स ट्र्याक निर्माण गरिएको छ भने हाइजम्प, लङजम्पलगायतका विभिन्न विधा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। २५ मिटर लम्बाइ र चौडाइको पौडी पोखरीसमेत निर्माण गरिएको छ।
‘अब प्रतियोगिता हुन्छ, द्विविधामा नपर्नुस्’
शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सञ्चालन हुने बताउनुभएको छ।
पटक–पटक प्रतियोगिताको मिति सरेका कारण यसपटक पनि प्रतियोगिता हुने वा नहुनेमा आशंका हुनु स्वाभाविक भए पनि अब त्यस्तो द्विविधा नराख्न उहाँले आग्रह गर्नुभयो।
वीरेन्द्रनगरमा बसेको मूल आयोजक समितिको बैठक प्रतियोगिताको औपचारिक तयारीलाई अघि बढाउन महत्वपूर्ण भएको उहाँले बताउनुभयो।
‘विगतमा विविध कारणले प्रतियोगिता अन्योलमा परेकाले यसपटक पनि हुँदैन कि भनेर आशंका व्यक्त हुनु स्वाभाविक हो,’ मन्त्री पोखरेलले भन्नुभयो, ‘मन्त्रिपरिषद्बाट प्रतियोगिता अनुमोदन भइसकेको र बजेटसमेत सुनिश्चित भएकाले अब प्रतियोगिता हुन्छ वा हुँदैन भन्ने द्विविधामा नपर्न आग्रह गर्दछु।’
मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदलाई केवल प्रतियोगिता आयोजना गर्ने कार्यक्रमका रूपमा मात्र सीमित गर्न नहुने बताउनुभयो। देशभरका गाउँ–गाउँमा रहेका खेल प्रतिभालाई राष्ट्रियस्तरको अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हुनुपर्ने उहाँको भनाइ छ।
दुर्गम तथा ग्रामीण क्षेत्रका प्रतिभालाई खेलकुदका माध्यमबाट अघि बढाउँदै उनीहरूले खेलबाटै जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
संघीय, प्रदेश र स्थानीय सरकारले १०औँ राष्ट्रिय खेलकुदलाई साझा कार्यक्रमका रूपमा लिएर स्वामित्वका साथ अघि बढ्नुपर्ने मन्त्री पोखरेलले बताउनुभयो। तयारीका क्रममा देखिने असमझदारीलाई नकारात्मक रूपमा लिनुभन्दा आपसी समन्वय र सहकार्यबाट समाधान गर्दै प्रतियोगिताको उत्साह देशभर फैलाउनुपर्ने उहाँको भनाइ छ।
यससँगै दुई वर्षदेखि अन्योलमा रहेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताले अब भने अन्तिम तयारीको चरण प्रवेश गरेको छ। पूर्वाधार, बजेट, व्यवस्थापन र खेल तालिकासहितका तयारीलाई निर्धारित समयभित्र पूरा गर्न सके कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरमै सञ्चालन हुने अपेक्षा गरिएको छ।









