
कर्णालीका युवाहरुले राजनीतिमा युवाहरुलाई राम्रो अवसर भएकोले बताएका छन् । आईतवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एकान्टबिलिटी ल्याब नेपालले निर्वाचनमा युवाहरुको सहभागिताको सवालमा गरेको कार्यशालामा सहभागी युवाहरुले यस्तो बताएका हुन् । राजनीतिमा युवाहरुको लागि सिर्जित अवसरहरु प्राप्तीको क्रममा आईपर्ने चुनौतीहरु चिर्नुपर्ने उनीहरुको भनाइ छ ।
कार्यशालामा सहभागी रुकुमपश्चिमका सुरक्षा डाँगीले बदलिएको व्यवस्था र विभिन्न कानूनी प्रावधानले युवाहरुलाई अवसरको ढोकामा पुर्याएको बताइन । क्षमतावान युवाहरुलाई राजनीतिमा राम्रा अवसर सिर्जना भएकोले यसलाई सकारात्मक रुपले लिनुपर्ने डाँगीको बुझाइ छ ।
कालिकोटका आशीका भट्टराईले निर्वाचन पर्यवेक्षण देखि राजनीतिक गतिविधिको संलग्नतामा युवाहरु अग्रसर हुने क्रम बढीरहेको बताइन । राजनीति मुलुकको मूल नीति हो भनेर दल र व्यवस्था बुझेर राजनीतिमा होमिएका युवाहरु कमै भएकोले निर्णायक भूमिकामा जान नसकेको उनको भनाइ छ ।
सिम्ता सुर्खेतका कमल परियारले राजनीतिमा लागेर दलको एजेण्डा र पदको जिम्मेवारी नबुझेसम्म युवाहरुले देश हाँक्न नसक्ने बताए । दलहरुको प्रतिनिधि छनौटमा पनि युवा वर्गको सहभागिता अनिवार्य हुँदै गएकोले राजनीतिमा राम्रो अवसर भएको उहाँको बुझाई रहेको छ ।
दलभित्रका युवा संगठनहरुको सक्रियता, आरक्षणको व्यवस्था, निर्वाचनको बेला युवा तथा स्वतन्त्र उमेद्वारहरुको छनौट लगायतका कार्यले राजनीतिमा युवाहरुको सम्भावना राम्रो भएको बुझाइ युवाहरुको रहेको छ ।
दैलेखका अमृता शाहीले स्थानीय तहमा युवाहरुको सहभागिता, युवामैत्री कार्यक्रम, सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको प्रयोगले राजनीतिको केन्द्रमा युवाहरु नै रहेको स्पष्ट पारिन । उनले आफ्नो लागि आफै एजेण्डा तयार गर्न सक्ने र प्रविधिमैत्री निर्वाचनमा युवाहरु सक्रिय हुने भएकोले पनि मतदाताको रोजाईमा युवाहरु पर्ने गरेको बताइन ।
राम्रा अवसरहरु हुँदा पनि कर्णालीका युवाहरुले अनेकन चुनौतीहरु झेल्नुपरेको छ । दैलेखका पुष्कर खड्काले निर्वाचनमा हुने आर्थिक व्यवस्थापन, यहाँको भौगोलिक विकटता, प्रभावकारी सूचनाको अभाव तथा मिथ्या सूचनाको असरले युवाहरुलाई पछाडी पारेको बताए । यसका साथै सामाजिक तथा लैंगिक अवरोध, राजनीतिक दलभित्रको गुटबन्दीले पनि युवाहरुलाई निराशा पार्ने गरेको उनको भनाइ छ ।
निर्वाचनको बेला उम्मेदवार छनौटको निर्णायक तहमा पुराना पुस्ताको वर्चस्व रहेको हुम्लाका सबिन रोकायले बताए । पछिल्लो समय राजनीतिप्रति आम सर्वसाधारणहको धारणा नकारात्मक बनेकोले राजनीतिमार्फत केहि गरौं भन्ने सोच बोेकेका युवाहरु पछाडी पर्ने गरेको उनीहरुको भनाई छ । एकाउन्टबिलिटी ल्याब नेपालका प्रबन्धक शुभेच्छा चापागाँई र कार्यक्रम अधिकृत क्रमिक काफ्लेले सहजीकरण गरेको कार्यक्रममा कर्णालीका विभिन्न जिल्लामा ३० बढी युवाहरुको सहभागिता रहेको थियो ।









